टुटेको मन जोड्ने टुटेश्वरनाथ मन्दिर : धार्मिक आस्था र पर्यटकीय सम्भावनाको संगम

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
मधेश प्रदेशको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थलको रूपमा चिनिएको टुटेश्वरनाथ महादेव मन्दिर पछिल्लो समय धार्मिक आस्था मात्र होइन, पर्यटकीय आकर्षणको केन्द्रबिन्दुका रूपमा पनि स्थापित हुँदै गएको छ। महेन्द्र राजमार्गदेखि झण्डै ७ किलोमिटर उत्तरतर्फ, महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–५ मा अवस्थित यो मन्दिर आज धार्मिक आस्थाको मात्र होइन, सामाजिक सद्भाव र स्थानीय पर्यटन विकासको प्रतीक बन्न थालेको छ।

मरहा नदी र खहरे खोलाको संगमस्थलमा अवस्थित यो पौराणिक मन्दिर साउन महिनाको प्रत्येक सोमबार हजारौं भक्तजनले जल चढाउने, पूजा गर्ने तथा भाकल गर्ने केन्द्र बनेकोछ। श्रद्धालुहरू मनोकामना पूरा भएपछि काँवर बोकेर आउनु, लड्डु चढाउनु, सुन–चाँदीको दान गर्नु वा मन्दिरको भौतिक संरचना बनाइदिनेजस्ता भाकल गर्ने चलन पछिल्ला वर्षहरूमा बढ्दो छ।

स्थानीय बासिन्दा यो स्थलले “टुटेका मनहरू जोड्ने टुटेश्वर“ को भावनासहित धार्मिक सद्भावको नयाँ प्रतीक बन्न थालेको बताउँछन्। मन्दिर परिसरको सफाइ, पथ निर्माण, विश्राम गृह, पवित्र जलकुण्ड र शुद्धतापूर्ण वातावरणले गर्दा यहाँ आउने भक्तजनको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ।

मुख्यमन्त्रीको दर्शन, पर्यटकीय सम्भावनाको संकेत

साउन महिनाको तेस्रो सोमबार, अर्थात् आजको दिन, मधेश प्रदेशका मुख्यमन्त्री शतिश कुमार सिंह स्वयं टुटेश्वरनाथ मन्दिर पुगेर विधिपूर्वक दर्शन गरेका छन्। उनको यो औपचारिक उपस्थितिलाई धार्मिक पर्यटन प्रवद्र्धनसँग पनि गाँसिएको रूपमा हेरिएको छ।

मुख्यमन्त्रीसँगै मन्दिर दर्शनमा सहभागी भएका नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले भने, “यो मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र होइन, प्रदेशको पर्यटन विकासका लागि ‘हेरिटेज गेटवे’ बन्न सक्छ।”

त्यस्तै, बर्दिवास नगरपालिका–५ का वडा अध्यक्ष काहारमान स्याङवाले भने, “हाम्रो टुटेश्वरनाथ मन्दिरमा हरेक साउन सोमबार हजारौँ श्रद्धालु आउँछन्। मन्दिरको धार्मिक महत्वलाई प्रदेश सरकारले चिन्ने बेला आएको छ। अब यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न प्रदेश सरकार गम्भीर होस् भन्ने हाम्रो आग्रह हो।”

मेला र पर्वमा धार्मिक जनसङ्ख्याको बाढी

टुटेश्वरनाथ महादेव मन्दिरमा साउन सोमबारहरू मात्र होइन, हरितालिका तीज, महाशिवरात्रि, एकादशी, चतुर्दशीजस्ता पर्वहरूमा दर्शनार्थी आउने गर्छन यस्ता पर्वहरूमा यहाँ सिरहा, धनुषा, सर्लाही, बारा, रौतहटलगायतका छिमेकी जिल्लाबाट मात्र होइन, सीमावर्ती भारतीय शहरहरूबाट समेत भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिन्छ।

मन्दिरको शिखर र वास्तुकला, यसको पौराणिक सन्दर्भ, आसपासको हरियाली र शान्त वातावरणले गर्दा यो स्थल धार्मिक पर्यटनका लागि उपयुक्त गन्तव्य बन्ने प्रबल सम्भावना बोकेको देखिन्छ।

धार्मिक भावनासँगै विकासको माग

हालसम्म मन्दिरको प्रबन्ध व्यवस्थापन स्थानीयवासीहरूको सक्रियता र भक्तजनहरूको भाकलमा भर पर्नु परेको छ। यहाँ धार्मिक पर्यटन प्रवद्र्धन गर्न सडक, सुलभ पार्किङ, धर्मशाला, पाटीपौवा, जलपान गृह, शौचालय, जस्ता आधारभूत पूर्वाधार आवश्यक रहेको स्थानीयको भनाइ छ।

मुख्यमन्त्रीको हालैको भ्रमणसँगै स्थानीयवासीहरूमा आशा पलाएको छ—शासन प्रशासनको चासोले अब यो स्थल नयाँ मोडमा पुग्नेछ।

टुटेश्वर ः धार्मिकता मात्र होइन, अवसरको आधार

धार्मिक आस्था, पौराणिक किम्वदन्ती, प्रकृतिको रमणीयता र स्थानीय सद्भावको संगमस्थल टुटेश्वरनाथ मन्दिर अब साँच्चिकै प्रदेशको गौरवपूर्ण धार्मिक–पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको छ।

सरकारको लगानी, समुदायको सहभागिता र योजनाबद्ध विकासले यहाँ धार्मिक पर्यटनको एक मोडल खडा गर्न सकिन्छ, जुन प्रदेशको सामाजिक–आर्थिक उन्नयनमा समेत महत्वपूर्ण योगदान पु¥याउनेछ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...