चुरेमा जल भण्डारण नगरी मधेश बच्दैन ः पूर्वप्रधानमन्त्री नेपाल

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले मधेशको जलसंकट समाधानका लागि चुरे क्षेत्रमा जलसञ्चय र भण्डारणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

मधेश प्रदेशस्तरीय पुष्पलाल स्मृति भवनको उद्घाटन समारोहमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ स्थित परवानीपुर बोहोरेडाँडामा शनिबार आयोजित कार्यक्रममा बोल्दै नेपालले भने, “वर्षामा अनावश्यक रूपमा बग्ने पानीलाई चुरेमै रोक्न सकेको भए अहिलेको जस्तो सुक्खा र सिँचाइको समस्या हुने थिएन। सरकारले अब यस्ता विषयलाई प्राथमिकतामा राखेर गम्भीर योजनासहित अघि बढ्न आवश्यक छ।”

पूर्वप्रधानमन्त्री नेपालले आफू शनिबार विराटनगरबाट उदयपुर, सिन्धुली हुँदै महोत्तरी र सर्लाही आइपुग्दासम्मको यात्रा अनुभव सुनाउँदै मधेशमा परेको वर्षाले केही राहत दिएको भए पनि दीर्घकालीन समाधानका लागि तत्काल योजना निर्माण अपरिहार्य रहेको बताए।
नेपालले चुरे क्षेत्रमा पोखरी निर्माण गरेर भूमिगत जल पुनर्भरण (वाटर रिचार्ज) प्रणाली स्थापना गर्न सकिने सुझाव दिएका छन्। उनले प्रधानमन्त्री रहँदा अगाडि सारेको ‘राष्ट्रपति चुरे संरक्षण योजना’ अझै सार्थक रूपमा कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे।

“हामीले सप्तकोशीको पानीलाई सप्तरी, सिराहा, धनुषा, महोत्तरी हुँदै सर्लाहीको बागमतीमा ल्याएर सिँचाइको दायरा बढाउने सपना देखेका थियौं, तर त्यो योजना अघि बढ्न सकेन,” नेपालले भने। हालको अवस्थाबारे उल्लेख गर्दै उनले सप्तकोशीको केवल १५ प्रतिशत पानी मात्र डाइभर्ट गरेर सिँचाइमा प्रयोग भइरहेको उल्लेख गरे।

पुष्पलाल स्मृति भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रिय राजनीतिमा योगदान पु¥याएका नेताहरू तथा मधेशमा किसान आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरूको समेत शालिक निर्माण गर्न प्रस्ताव गरे।

“गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, तुल्सीलाल अमात्य, निर्मल लामा जस्ता नेताहरूको शालिक यहाँ राख्न सकियो भने त्यो राष्ट्रिय एकता र इतिहासप्रतिको सम्मान हुने छ,” उनले बताए।
शनिबार नै नेपालले हरिपुर नगरपालिका–७, चिताइनमा निर्माण गरिएको पक्की छठघाटको पनि उद्घाटन गरे। उक्त घाट र स्मृति भवन दुबै मधेश प्रदेशका प्रदेशसभा सदस्य बेची लुङ्गेलीको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेटबाट निर्माण गरिएको हो।

पूर्वप्रधानमन्त्री नेपालको शनिबारको दौडान जलस्रोत व्यवस्थापन, सहिद र नेताहरूको सम्मान र धार्मिक–सांस्कृतिक संरचनाको विकासमा केन्द्रित देखियो। मधेशको दिगो समाधानका लागि चुरे र सप्तकोशी दुवैसँगको सहकार्यको खाका उनका सम्बोधनमा प्रष्ट झल्किएको थियो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...