आज्ञा खबर
बर्दिवास,
महोत्तरीको बर्दिवासस्थित एकमात्र सरकारी नगर अस्पताल बर्दिवास अस्पतालमा एनेस्थेसिया मेशिन सञ्चालनमा आएपछि शल्यक्रिया (अपरेशन) सेवामा नयाँ युगको सुरुवात भएको छ।
बर्दिवास नगरपालिकाको प्रयासमा अस्पतालमा स्थापना गरिएको उक्त अत्याधुनिक एनेस्थेसिया मेशिनको परीक्षण सम्पन्न गरी बिगत एक सातादेखी नियमित प्रयोगमा ल्याइएको हो। यससँगै अब सामान्यदेखि आकस्मिक अपरेशन सेवा प्रदान गर्न अस्पताल सक्षम बनेको छ।
यसैक्रममा बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले “नगरवासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो लक्ष्य थियो भनेका छन उनले एनेस्थेसिया मेशिनको स्थापनासँगै अब सुत्केरी, आपतकालीन शल्यक्रिया तथा अन्य शल्यक्रिया गर्न सहज भएको बताए ।
यसअघि एनेस्थेसियाको सुविधा नहुँदा अस्पतालमा कम्मर भन्दा मुनिको भागको मत्रै अपरेशन हुने गरेको हुनाले गम्भीर बिरामीलाई जनकपुर वा काठमाडौंतर्फ रिफर गर्नुपर्ने बाध्यता थियो। तर अस्पतालमा प्रविधिको आगमनसँगै स्थानीयवासीलाई आर्थिक र मानसिक भार घट्ने अपेक्षा गरिएको छ।
बर्दिवास अस्पतालका मेडिसिन डा रितेश घिमिरेले भने, “अब हामी सामान्य अपरेशन मात्रै होइन, आपतकालीन अवस्थामा पनि बिरामीलाई तत्काल सेवा दिन सक्ने भएका छौं। यो अस्पतालका लागि ठूलो उपलब्धि हो।“
अस्पतालमा एनेस्थेसियाको सुविधा शुरु भएपछी स्थानीय बासिन्दाहरूले पनि खुशी व्यक्त गरेका छन्। बर्दिवास–५ का राम भण्डारी भन्छन्, “अब अपरेशनका लागि टाढा जानु पर्दैन। यत्रो नगरमा यस्तो सुविधा हुनु गौरवको कुरा हो।“
बर्दिवास नगरपालिकाले अस्पतालको पूर्वाधार, उपकरण तथा जनशक्ति विस्तारमा प्राथमिकता दिँदै आएको छ। एनेस्थेसिया मेशिन सञ्चालनसँगै शल्यक्रिया सेवा सञ्चालनमा आएकोले नगरवासीलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास गरिएको छ।
