आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–८ का विभिन्न स्थानमा इलेक्ट्रिक तथा सौर्य वाष्प बत्ती जडानको काम शुरु भएको छ। उज्यालो अभावका कारण साँझपख स्थानीय बासिन्दा र व्यवसायीलाई दैनिक कामकाजमा समस्या हुँदै आएको अवस्थामा नगरपालिकाले यो पहल थालेको हो।
बर्दिवास–८ अन्तर्गत बेङ्गखाडी बजार क्षेत्रमा साँझ परेपछि अन्धकार हुने गरेको हुनाले स्थानीय हाटबजारमा किनमेल गर्न आउने उपभोक्ता तथा व्यापारीलाई तरकारी, फलफूल, माछा, मासु लगायतका सामग्री खरिद बिक्री गर्न समेत कठिनाइ हुने गरेको थियो।
स्थानीय समस्यालाई मध्यनजर गर्दै नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीको अगुवाइमा सो वडाको बेङ्गखाडी बजार, सर्वेश्वरनाथ महादेव मन्दिर परिसर र हातिलेटका विभिन्न स्थानमा इलेक्ट्रिक र सौर्य वाष्प बत्ती जडानको काम शुरु भएको हो।
बर्दिवास–८ का स्थानीय समाजसेवी नथुनी लोप्चनका अनुसार अन्धकारका कारण बिगतमा व्यापारीहरू साँझपख असुरक्षा महसुस गर्थे भने उपभोक्ताहरूलार्ई किनमेलगर्न समस्या थियो। “बत्तीको सुविधा भएपछि अब साँझमा पनि सहज रूपमा किनमेल र व्यवसाय सञ्चालन गर्न सकिनेछ,“ उनले भने।
नगरपालिकाले सौर्य ऊर्जा प्रयोग गरी टिकाउ र वातावरणमैत्री प्रविधिको प्रयोग गरिरहेको छ। यसबाट लामो समयसम्म उज्यालोको सुविधा रहने, विद्युत् अभाव हुँदा पनि सौर्य प्रणालीले वैकल्पिक ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।
स्थानीयवासीहरूले नगर प्रमुखको यो पहललाई स्वागत गरेका छन्। उनीहरूको अनुसार, “अब साँझपख अँध्यारो हट्नेछ, महिला र वृद्धवृद्धालाई आवतजावतमा सहज हुनेछ, हाटबजार फेरि जीवन्त बन्नेछ।”
नगरपालिकाले आगामी दिनमा अन्य वडामा पनि यस्तै प्रविधिको विस्तार गर्ने योजना बनाएको छ। उज्यालो अभियानले बर्दिवासलाई सुरक्षित र सक्रिय बजार क्षेत्रका रूपमा विकास गर्न टेवा पुर्याउने जनाइएको छ।
