‘सिंघम’ बन्ने रहरमा बदनाम : तस्करसँगको मिलेमतो प्रकट भएपछि सई बैधनाथ दास निलम्बन

[sharethis-inline-buttons]

आज्ञा खबर

सर्लाही
एक समय आफूलाई ‘सिंघम’ भनेर परिचित गराउन रुचाउने प्रहरी नायव निरीक्षक (सई) बैधनाथ दास अहिले बदनामीको घेरामा छन्। तस्करसँगको आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि उनी निलम्बनमा परेका छन्।

सर्लाहीको इलाका प्रहरी कार्यालय हिरापुरमा कार्यरत सई दासले स्थानीय तस्करसँग मिलेमतो गरेको प्रमाणसहितको अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले तत्कालै कारबाही प्रक्रिया अघि बढाएको हो।

प्रहरी स्रोतका अनुसार सई दासले सर्लाहीका चर्चित तस्कर राजीव यादवको तस्करीलाई सहयोग गर्नका लागि आफ्ना मातहतका प्रहरी जवान सन्तोष यादवमार्फत १८ हजार रुपैयाँ माग गरेका थिए। सोही विषयमा भएको फोन संवाद अडियोसहित सार्वजनिक भएपछि प्रहरी संगठनभित्रै हलचल मच्चिएको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले घटनाको पुष्टि गर्दै प्रमाण नष्ट हुन नदिनका लागि सई दासविरुद्ध मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरमार्फत प्रहरी प्रधान कार्यालयमा निलम्बन सिफारिस पठाइएको जानकारी दिए।
“अडियो बाहिरिएपछि तत्काल कारबाही थालिएको हो,” राईले भने, “यस्ता घटनाले संगठनको छवि धुमिल बनाउँछ, त्यसैले अनुसन्धानलाई प्रभावकारी बनाउन दासलाई निलम्बन गरिएको हो।”

कोभिड महामारीको समयमा बीरगंजमा कार्यरत रहँदा ‘सिंघम’ को शैलीमा परिचित सई दासप्रति त्यतिबेला स्थानीयले विश्वास गरेका थिए। तर पछिल्लो घटनाले उनको छवि धराशायी भएको छ। अब उनलाई विभागीय अनुसन्धानको सामना गर्नुपर्नेछ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...