शरीर स्वस्थ, मन शान्त, समाज समुन्नतः बर्दिवासमा योगको चेतना,सामाजिक रूपान्तरणको अभियान

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिका–१ स्थित निलगंगा योगशाला यतिबेला केवल व्यायाम केन्द्र होइन, सामाजिक रूपान्तरणको थलो बन्दै गएको छ। २१ जुनको अन्तराष्ट्रिय योग दिवस को अवसरमा आयोजित विशेष योग शिविरमा नगरवासीको सहभागिता मात्र उल्लेखनीय रहेन, स्वास्थ्यप्रतिको चेतना र जीवनशैली परिवर्तनको गहिरो सन्देश पनि झल्किएको थियो।

संस्कृति तथा पर्यटन प्रवद्र्धन समिति बर्दिवास, नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरी, रोटरी क्लब अफ बर्दिवास तथा बर्दिवास हेल्प फाउन्डेसनको सहकार्यमा सम्पन्न उक्त शिविरले योगलाई समाज रूपान्तरणको प्रमुख माध्यमको रूपमा पुनःस्थापित गरेको छ।

शिविरको अगुवाइ गरेकी योग शिक्षिका तथा सामाजिक अभियन्ता सुमित्रा भट्टराईको यात्रा अब व्यक्तिगत अभ्यासमा मात्रै सीमित छैन—त्यो एक स्वतन्त्र, समुदाय–केन्द्रित सामाजिक आन्दोलनजस्तै देखिन थालेको छ।
यसैक्रममा कार्यक्रमकी प्रमुख अतिथि मधेश प्रदेशकी पुर्व गृहतथा सञ्चार राज्य मन्त्री ,महोत्तरी क्षेत्र नम्बर १ (क¬¬¬) की संसद शारदादेवी थापाले आफ्नो मन्तव्यमा भनिन्, “अस्पताल जानु बिरामी भएपछि हो, तर बिरामी नपर्ने उपाय कति अपनाएका छौं? योग यस्तो अभ्यास हो, जसले स्वास्थ्य समस्या सुरु हुनु अघिनै रोक्न सक्छ।”
उनको सुझाव थियो—यदि बर्दिवास नगरपालिकाले प्रत्येक वडामा योग केन्द्र स्थापना ग¥यो भने नगरको स्वास्थ्य प्रणालीमाथिको भार घट्ने मात्र होइन, नागरिकको कार्यक्षमता र जीवनस्तर समेत सुधारिनेछ।

कार्यक्रममा बोल्दै बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले भने, “हाम्रो नगरको बजेट सीमित छ। थोरै स्रोतसाधनबाट सबैको आकांक्षा पूरा गर्न सकिँदैन। त्यसैले हामी योजनाहरुलाई प्राथमिकताका आधारमा अघि बढाइरहेका छौं।” उनले योगजस्ता गतिविधिहरू दीर्घकालीन स्वास्थ्य लाभदायक हुने भएकाले स्थानीय सरकारको ध्यान अब यस्ता कार्यक्रमतर्फ केन्द्रित हुन थालेको स्पष्ट पारे।

नगरप्रमुखको भनाइले जनताको स्वास्थ्य र भौतिक पूर्वाधारभन्दा परको मानसिक र सामाजिक चेतना विस्तारमा समेत स्थानीय सरकारको संलग्नता बढ्न थालेको संकेत गर्छ।

सुमित्रा भट्टराईको अगुवाइमा सञ्चालित निलगंगा योगशालामा दैनिक ५० भन्दा बढी नागरिक सहभागी हुन्छन्। बिहान सबेरै सुरु हुने सत्रमा वृद्ध, महिला, युवा सबैको उत्साहपूर्ण सहभागिता देखिन्छ।
भट्टराईले योग शिबिरबाट संकलित शुल्कलाई सामाजिक सेवामा खर्च गर्दै आएकी छीन—जसमा विद्यालयका गरिब विद्यार्थीहरूलाई सहयोग, विपद् पीडित परिवारका लागि राहत वितरणदेखि विभिन्न सामुदायिक कार्यहरू पनि समावेश छन्।

उनको भनाइमा—“हामी योगमार्फत केवल शरीरलाई होइन, मन र आत्मालाई पनि अनुशासित गर्दैछौं। स्वस्थ्य नागरिक भनेकै जिम्मेवार नागरिक हो।”

सामाजिक रूपमा अपेक्षाकृत परम्परावादी मानिने मधेशी समुदायमा महिलाको नेतृत्व अझै चुनौतीपूर्ण मानिन्छ। तर सुमित्रा भट्टराईले आफ्ना कर्म र निष्ठाले त्यो धारणा तोड्दै समाजलाई नयाँ बाटो देखाएकी छीन्।
उनले महिलाहरूलाई आत्मनिर्भरता र आत्मविश्वासको बाटोमा डो¥याएकी छीन् भने पुरुषहरूलाई पनि मानसिक स्वास्थ्य र अनुशासनको महत्वबारे सचेत गराएकी छीन्।

योग शिविरमा सहभागी भएका बर्दिवास २ का नरेन्द्र कर्ण भन्छन्, “पहिले योगलाई फुर्सदको खेल ठान्थें। अहिले नियमित अभ्यासबाट मेरो शरीर र मन दुबै स्वस्थ भएको छ।”
बर्दिवासकै मुख्य बजारमा ब्यवसाय सञ्चालन गर्दै आएका उमेश साह जसलाई बषौदेखी शारीरीकसमस्या थियो, उनि भन्छन्, “सुमित्रा दीदीको प्रेरणाले योग सुरु गरेँ, अहिले सजिलै सहज स्थिती भएको छ।

यी प्रतिक्रियाहरूले योगको चमत्कारि पक्ष मात्र होइन, यसले ल्याउने मानसिक, भावनात्मक र सामाजिक परिवर्तनको पक्षलाई पनि उजागर गर्छ।

सुमित्रा भट्टराईको अभियान केवल योग शिक्षासम्म सीमित छैन। उनले शिक्षा, स्वास्थ्य र समाजसेवालाई एकैसाथ समेट्ने प्रयास गरेकी छीन्।
नगरका बालबालिकाहरुलाई निःशुल्क योग सत्र सञ्चालन, महिलाहरूका लागि ध्यान केन्द्र स्थापना, आत्म–अनुशासन विकासमा योगको प्रयोग—यी सबै उनका अभ्यासका अंग हुन्।

कार्यक्रममा सहभागी धेरैले बर्दिवास नगरपालिकाले प्रत्येक वडामा योग केन्द्र स्थापना गर्नु पर्ने आवश्यकता औंल्याए। यो सुझाव केवल स्वास्थ्य प्रणाली सुधारको उपाय मात्र होइन, समाजिक जीवनशैली समेत हो। सुमित्रा भट्टराईको नेतृत्वमा सञ्चालित योग शिविर अब बर्दिवास नगरका लागि एउटा अनुकरणीय अभ्यास बनेको छ।
महिलाको नेतृत्व, जनताको सक्रिय सहभागिता, र स्थानीय सरकारको सहकार्यमार्फत सामाजिक रूपान्तरण सम्भव छ भन्ने उदाहरण प्रस्तुत भएको छ।
अन्ततः योग दिवस एक दिवसीय कार्यक्रम नबनी जीवनशैलीको अटुट अंग बन्नु आवश्यक छ—जहाँ स्वास्थ्य, चेतना र समर्पणको समिश्रणले समाज समुन्नत बनाउँछ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...