आज्ञा खबर
सर्लाही
सर्लाहीको लालबन्दी नगरपालिका भित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले निर्धारित सम्पूर्ण खोप प्राप्त गरेपछि सो नगरपालिका ‘पूर्णखोप सुनिश्चितता’ मा पुग्ने जिल्लाकै पहिलो नगरपालिका बनेको छ।
नगरपालिकाका १७ वटै वडाका बालबालिकाले नेपाल सरकारले तोकेको पूर्ण खोप तालिका अन्तर्गतका सबै खोपहरु प्राप्त गरिसकेपछि बुधबार नगरपालिकालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो।
स्वास्थ्य शाखा संयोजक मुमताज मिकरानीका अनुसार, खोप कार्यक्रमको सफल कार्यान्वयन नगरस्तरमा सञ्चालित निरन्तर जनचेतना, स्वास्थ्यकर्मीको समर्पण र अभिभावकको सहकार्यको उपलब्धि हो। “बालबालिकाको स्वास्थ्य सुरक्षामा लालबन्दीले उदाहरणीय काम गरेको छ,” मिकरानीले बताए।
घोषणा कार्यक्रममा कार्यवाहक नगरप्रमुख कल्पनामाया पाख्रिनको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष कौशलकिशोर सिंह थिए। सिंहले लालबन्दीलाई खोप अभियानमा प्रगतिशील मोडलको रुपमा चित्रण गर्दै अन्य पालिकालाई समेत यसबाट प्रेरणा लिन आग्रह गरे।
घोषणासँगै बालमैत्री नगरको दिशामा अघि बढिरहेको लालबन्दीले अब नियमित खोप सेवालाई थप व्यवस्थित, पहुँचयोग्य र अभिभावक मैत्री बनाउने प्रतिबद्धता समेत जनाएको छ।
यसैबीच, जिल्लाको अर्को नगरपालिका हरिवन पनि आजै ‘पूर्णखोप सुनिश्चितता नगरपालिका’ घोषणा हुँदैछ। योसँगै सर्लाही जिल्लाले बाल स्वास्थ्य सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै गएको देखिएको छ।