आज्ञा खबर
बर्दिवास
लोपोन्मुख सांस्कृतिक सम्पदाको संरक्षण र स्थानीयस्तरमै रोजगारी सिर्जनाको उद्देश्यसहित बर्दिवास नगरपालिकाले समावेशी सहभावितामूलक पञ्चेबाजा सम्बन्धि १५ दिने तालिम सुरु गरेको छ। मधेश प्रदेशमै पहिलोपटक सञ्चालनमा ल्याइएको यो तालिम बुधवारदेखि बर्दिवास नगरपालिका–३ मा औपचारिक रूपमा सुरु भएको हो।
तालिमको उद्घाटन नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले गरेका थिए। उनले उद्घाटन समारोहलाई सम्बोधन गर्दै मौलिक परम्परा, संस्कृति र लोकविधाको संरक्षण आजको अपरिहार्य आवश्यकता भएको बताए। “पछिल्लो समय हराउँदै गइरहेका पञ्चेबाजालाई संरक्षण गर्दै नगरभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित यो तालिम सञ्चालनमा ल्याइएको हो,” प्रमुख क्षेत्रीले भने।
उनका अनुसार बर्दिवास नगरपालिकाले सांस्कृतिक पहिचानसहितको समावेशी विकासलाई प्राथमिकतामा राख्दै काम अगाडि बढाएको छ। “पञ्चेबाजा हाम्रो लोकसंस्कृतिको अभिन्न अंग हो। यसलाई जीवन्त राख्न स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादन गर्नु आवश्यक छ,” उनले थपे।
तालिममा विभिन्न जात–जातीका १८ जना सहभागी छन्, जसमध्ये ९ जना महिला सहभागी रहेको नगरपालिका स्रोतले जनाएको छ। सहभागीहरूलाई झ्याली, दमाहा, नाफिरी, सानै, कर्नाललगायत पञ्चेबाजाका विभिन्न वाद्यवाद्य प्रयोग र संयोजनबारे प्रशिक्षण दिइँदैछ। तालिम स्थानीय प्रशिक्षकहरूको सहकार्यमा सञ्चालन भइरहेको छ।
नगरपालिकाका अनुसार तालिम १५ दिनसम्म दैनिक रूपमा सञ्चालन हुनेछ। समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनेछ। साथै, उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीलाई नगरपालिकाले आयोजना गर्ने स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा प्रस्तुत गराउने योजना समेत रहेको बताइएको छ।
बर्दिवास नगरपालिकाले पछिल्लो समय सांस्कृतिक पर्यटन प्रवद्र्धनसँग जोडिएका विभिन्न कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको जनाइएको छ। यस्तो तालिमले नगरको सांस्कृतिक पहिचानलाई बलियो बनाउनुका साथै स्थानीय युवामा सीपमूलक अवसर सिर्जना गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।