सामाजिक सम्बन्धले स्थापित जनप्रिय नेताः प्रह्लाद कुमार क्षेत्री

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाको नेतृत्व अहिले एउटा त्यस्तो व्यक्तिका हातमा छ, जसलाई पार्टीको झण्डाले होइन, सामाजिक सम्बन्धको गहिरो जरा र सेवा भावनाले लोकप्रिय बनाएको छ। ती हुन् – प्रह्लाद कुमार क्षेत्री, हाल बर्दिवास नगरपालिकाका मेयर र नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर १ का महासमिति सदस्य समेत रहेका प्रह्लाद कुमार क्षेत्रीको नेतृत्वशैली, व्यवहार, सामाजिक पहुँच र सेवा भावनाले उनलाई केवल राजनीतिक पदमा मात्रै सीमित राख्दैन, उनी नागरिकका मनमुटुमा बस्न सफल जनप्रतिनिधि बनेका छन्।

बर्दिवासको राजनीतिक, सामाजिक र विकास यात्रामा उनले ल्याएको उर्जाशील परिवर्तन अहिले नगरवासीले प्रत्यक्ष रूपमा महसुस गरिरहेका छन्।
प्रह्लाद कुमार क्षेत्री कुनै उच्च कदको राजनैतिक घरानाबाट उदाएका नेता होइनन्। उनी जनसाधारणबीचबाटै उदाएर उठेका, संघर्षबाट निखारिएका र सामाजिक सेवामा समर्पित हुँदै अघि बढेका व्यक्ति हुन्। राजनीति उनको लागि केवल पद प्राप्त गर्ने माध्यम होइन, समाज परिवर्तन गर्ने एउटा नैतिक जिम्मेवारी हो भन्ने बुझाइ उनको जीवनशैलीले प्रस्ट झल्काउँछ।

सायद त्यहि कारणलेगर्दा हुँनसक्छ । उनको सम्बन्ध न कुनै जातीय घेरामा सीमित छ, न कुनै वर्ग विशेषमा मात्रै केन्द्रित देखिन्छ । शिक्षक, किसान, व्यापारी, महिला समूह, युवा क्लबदेखि वृद्धवृद्धासम्म सबैसँग उनको पहुँच रहेको छ। राजनीतिक मतभेदभन्दा माथि उठेर उनले सामाजिक सद्भाव कायम राखेका छन्। यही कारण हो – उनको नेपाली कांग्रेसले स्थानिय तहको दोश्रो निर्वाचनमा टिकट खोसे पनि स्वतन्त्र उमेदवार बनेर नागरिकको प्रतिनिधित्व गर्दै नगर प्रमुख भए ।

प्रह्लाद कुमार क्षेत्री नगर प्रमुखमा निर्वाचित भएपछि बर्दिवासमा विकासको लय मात्र बद्लिएको छैन, जनतासँग सरकारको सम्बन्ध पनि सजीव भएर नजिकिएको छ। शान्त, धैर्यवान र सबैको कुरा सुन्ने स्वभावका कारण उनी नगरवासीबीच निकै लोकप्रिय छन्।

नगर प्रमुखको हैसियतले उनले “नगरपालिका केवल कार्यालय होइन, जनसेवाको चौतारी हो“ भन्ने धारणा अगाडि सारेको देखिन्छ। दैनिक सेवा प्रवाह सुधार, स्थानीय तहमा इ–गभर्नेन्सको विकास, पारदर्शी बजेट प्रणाली, सार्वजनिक सुनुवाइ, सुझाव संकलन जस्ता अभ्यासहरू उनका पहलमा आवश्यता अनुसार नियमित भएका छन्।

नगर कार्यालयलाई जनतामैत्री बनाउनका लागि उनले अपनाएका नीति र कार्यक्रमहरू उल्लेखनीय छन्। कार्यालयका ढोका सबैका लागि खुल्ला बनाउनु, सेवाग्राहीका गुनासो सुन्न “गुनासो सुन्ने डेस्क“ स्थापना गर्नु, महिला, दलित, अपांगता भएका व्यक्तिहरूका लागि प्राथमिकता सेवा सुरुवात गर्नु उनका जनपक्षीय दृष्टिकोणका प्रतिक हुन्।

“नगरप्रमुखका अगाडि कुनै दरबारको ढोका छैन, जो सिधा जनताबाट आएको हो, उसैले सबैका लागि खुला हुनु पर्छ,“ भन्ने भनाइ उनले व्यवहारमै उतारेका छन्।
प्रह्लाद क्षेत्रीको कार्यकालमा शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा उल्लेखनीय पहलहरू भएका छन्। विद्यालयहरूमा पठन–पाठन सुधार, बालमैत्री कार्यशाला, वातावरण संरक्षणका लागि वृक्षारोपण,स्थानीय जलस्रोत संरक्षण अभियान आदि कार्यक्रमले उनको सोचलाई फराकिलो बनाउँछ।

हालै सम्पन्न भएको विश्व वातावरण दिवसको अवसरमा “पानी स्रोत संरक्षण सप्ताह“ अभियानमा उनको सक्रियता उल्लेखनीय थियो। यस अभियानमा बर्दिवास सानाशहरीखानेपानी उपभोक्ता संस्थालाई समेट्दै नगरलाई हरियालीमैत्री बनाउन उनले दृढ संकल्प लिएका छन्।
नेपाली कांग्रेसमा महासमिति सदस्यको हैसियतले उनी पार्टीभित्र पनि विवेकशील र समझदार नेताका रूपमा परिचित छन्। पार्टीमा कुनै गुट विशेषसँग नजोडिए पनि सबैसँग समन्वय गर्दै समावेशी नेतृत्व अभ्यास गर्नसक्ने क्षमता उनको विशेषता हो।

“राजनीति भनेको सत्ताको खेल मात्रै होइन, समाज रूपान्तरणको माध्यम हो,“ भन्ने मान्यता अनुसार उनले राजनीतिक यात्रालाई सेवा यात्रामा बदल्न खोजेका छन्। उनले नगरबासीसंग वाचा गरिएको बिकासका योजनाहरु केवल कागजमा सीमित नहोस् भनेर उनी नियमित मूल्यांकन बैठक आयोजना गर्छन्। जनप्रतिनिधि भएर पनि आत्ममूल्यांकन गर्न सक्ने उनका प्रयासहरू उदाहरणीय छन्।

क्षेत्रीको अर्को प्रमुख विशेषता भनेको विपद् व्यवस्थापन र संकट व्यवस्थापनमा देखिने सक्रियता हो। बर्दिवासमा बाढी, डुबान वा आगलागीजस्ता विपद्का घटनामा उनी सधैं घटनास्थलमै पुग्ने गर्छन्। राहत व्यवस्थापनदेखि मनोपरामर्शसम्मका काममा उनी आफैं अग्रसर भएर संलग्न हुने गर्छन्।

त्यस्तै, बालबालिकाको आवाजलाई प्राथमिकतामा राख्दै बिद्यालयहरुमा गरिएको “गुनासो सुन्ने कार्यक्रम”, बालमैत्री नगरको अवधारणा कार्यान्वयन, विद्यालयस्तरमै बाल अधिकारबारे सचेतना अभिवृगर्ने उनका दूरदर्शी योजना हुन्।

नगरपालिका कर्मचारी व्यवस्थापन, योजना कार्यान्वयन, बजेट अनुशासन र सेवा प्रभावकारितामा प्रह्लाद क्षेत्रीले प्रष्ट मार्गदर्शन गरेका छन्। उनको पहलमा कार्यालयमा तालिम र अभिमुखीकरण कार्यक्रम नियमित भएका छन्, जसले कर्मचारीमा कार्यक्षमता बढाएको छ।

कर्मचारीलाई “सेवक“ को रूपमा हेर्ने र जनतासँग व्यवहारमा परिवर्तन ल्याउने अभियानले सरकारी प्रणालीमै एउटा नयाँ संस्कार सुरु गरिरहेको छ।
प्रह्लाद कुमार क्षेत्रीले बर्दिवास नगरप्रमुखको हैसियतले मात्रै कामकाज गरीरहेका छैनन उनले नगरभन्दा बाहिरका गतिविधिमा पनि उनी सकृयता देखाएकाछन्। क्षेत्रीय विकास, समन्वय, संघीय सरकारसँग लबिङ, प्रदेश सरकारसँग परियोजनाको सम्झौता र कार्यान्वयनमा समेत उनी अग्रसर रहेका छन्। बर्दिवासको नगर योजना निर्माणमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयको उत्कृष्ट उदाहरणको नेतृत्व क्षेत्रीले गरेका छन्।
आजको नेपाली राजनीतिको धेरैजसो छवि भाषणमा सीमित छ। तर प्रह्लाद कुमार क्षेत्री भाषणमा भन्दा व्यवहारमा बढी विश्वास गर्छन्। उनी “सुनिएको नेता“ होइनन्, “देखिएको र अनुभव गरिएको नेता“ हुन्। बजारको चिया पसलदेखि स्कूलको सभाहलसम्म उनको प्रसंग जनतामाझ खुला ढंगले उठ्ने गर्छ। नेताको छवि यस्तो बन्नु भनेको जनतासँगको दूरी अन्त्य हुनु हो।
प्रह्लाद कुमार क्षेत्रीले बर्दिवास नगरलाई सुशासन, सेवा, समावेशिता र समृद्धिको दिशामा अघि बढाएका छन्। सामाजिक सम्बन्ध, जनविश्वास र पारदर्शी कार्यशैलीले उनलाई केवल वर्तमानको होइन, भविष्यको पनि आशावादी नेता बनाएको छ।

जब कुनै नेता “पार्टी“ भन्दा पर जानसक्छ, तब जनताको आँखामा उसले “नायक“ को ठाउँ पाउँछ। आज प्रह्लाद कुमार क्षेत्री बर्दिवासका जनताको लागि केवल मेयर होइनन् – उनी विश्वास, समर्पण र सेवा भावनाका प्रतिक हुन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...