रातु सभ्यता उजागरः बर्दिबासको पाटुमा फेला परे हजारौं वर्ष पुराना पाषाण युगका हतियार

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

महोत्तरीको बर्दिबास–३ अन्तर्गत पाटु क्षेत्र एकाएक पुरातात्त्विक चासोको केन्द्र बन्दै गएको छ। हालैको अनुसन्धानमा यहाँ पाषाण युगका अनगिन्ती ढुङ्गे हतियारहरू फेला परेका छन्, जसले ‘रातु सभ्यता’को नयाँ अध्याय खोल्ने संकेत दिएको छ।

नेपाल सरकारको पुरातत्त्व विभाग र बर्दिबास नगरपालिकाको सहकार्यमा गत साता सुरु गरिएको अध्ययनमा करिब ७ वर्गकिलोमिटर क्षेत्रभित्र मानव प्रयोगका सातथरी ढुङ्गे औजारहरू भेटिएका हुन्। अध्ययन टोलीमा भारतको कटन विश्वविद्यालयका पुरातत्त्वविद् प्रो. मंजिल हजारिका र पुरातत्त्व विभागका शाखा प्रमुख भाष्कर ज्ञवालीजस्ता विज्ञको सक्रियता रहेको छ।

प्राप्त जानकारीअनुसार ती सबै औजार ‘क्वार्टजाइट’ नामक कडा ढुङ्गाबाट निर्मित छन्। फेला परेका वस्तुहरूमा युनिफेसियल चोपर (सिकार काट्ने), नाइभ (मासु टुक्र्याउने), स्क्रापर (छाला ताछ्ने), एज्ज (काठ र बाँस काट्ने), पोइन्ट (कन्दमूल खन्ने), नोच (चुलेसीका लागि) र ‘सुमात्रालिथ’ समावेश छन्।

‘सुमात्रालिथ’ इन्डोनेसियासँग मेल खाने औजार
विशेष रूपमा भेटिएको ‘सुमात्रालिथ’ नामक औजार इन्डोनेसियाको जाभा र सुमात्रा क्षेत्रमा भेटिएका प्रागैतिहासिक उपकरणसँग मेल खान्छ। यसले नेपालको प्राचीन मानव बस्ती दक्षिण–पूर्वी एशियाली सभ्यतासँग सम्बन्धित हुन सक्ने अड्कललाई बल दिन्छ।

प्रो. हजारिकाका अनुसार, यी सबै औजारहरू करिब ८ हजारदेखि १० हजार वर्ष पुराना हुनसक्छन्। “यी मध्य पाषाण युग (Mesolithic Period) का प्रतिनिधि हुन्। अझ विस्तृत अध्ययनपछि हामीले मानव जीवनको प्रारम्भिक स्वरूपबारे गहिरो अन्तर्दृष्टि पाउन सक्छौं,” उनी भन्छन्।

रातु सभ्यताको पृष्ठभूमि
यस क्षेत्रको पाषाणकालीन सम्भावनाबारे १९८५ मै जर्मन पुरातत्त्वविद् डा. गर्डुन कार्भिन्सले उल्लेख गरेका थिए। उनका अनुसार, चुरे क्षेत्रको शिवालिक भूगोलमा पुरातन सभ्यताको जरा फैलिएको थियो। अहिलेको खोज त्यसै अध्ययनको निरन्तरतामा देखिएको हो।

भाष्कर ज्ञवालीका अनुसार हालसम्म १८ वटा स्थानबाट १० बोरा बढी औजार संकलन गरिएका छन्। बाँकी दुई स्थानको अध्ययन पछि औजारहरूको प्रशोधन, वर्गीकरण, नक्साङ्कन र फोटोग्राफी गरिने र विस्तृत प्रतिवेदन तयार गरिने उनले जानकारी दिए।

इतिहास मात्र होइन, पर्यटनको ढोका पनि खुला
बर्दिबासको पाटु क्षेत्र अब इतिहासकै नहीं, पर्यटनको दृष्टिले पनि महत्वपूर्ण बन्दै गएको छ। होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतम भन्छन्, “यी औजारहरूले आदिम मानवको जीवनशैलीको झलक दिन्छन्। बर्दिबासलाई पुरातात्त्विक गन्तव्य बनाउने यो एक दुर्लभ अवसर हो।”

भवसी खोला, राइमण्डल डाँडा, गौरीडाँडा, र रातु नदीको पश्चिमी किनारा समेटिएको यो क्षेत्र संरक्षण र प्रचार–प्रसारको खाँचोमा रहेको बर्दिबास नगर प्रमुखको भनाइ छ।

यदि अनुसन्धानको बाँकी चरणहरू पनि सफलतापूर्वक सम्पन्न भए, बर्दिबासको पाटु क्षेत्र न केवल स्थानीय सम्पदा, तर दक्षिण एशियाकै एक ऐतिहासिक गन्तव्य बन्ने सम्भावना राख्दछ।


  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...