आज्ञा खबर
बर्दिवास
“हामी सुरक्षित विद्यालय चाहन्छौं। कक्षा कोठा जाडोको समयमा न्यानो, गर्मीमा शितल, उज्यालो, शान्त वातावरण”—ईच्छेश्वर मामि कक्षा १० मा अध्ययनरत आयुषी साहले जब यो आवाज कार्यक्रममा उठाइन्, बर्दिवास नगरपालिका प्रमुखसहित उपस्थित सबै अतिथिहरूको ध्यान त्यतै तानियो। ती शब्दहरूमा केवल गुनासो थिएन, चेतना थियो—र त्यो चेतना कागजमा मात्रै सीमित नरही नगरको भावी योजनामा समावेश गरिने प्रतिबद्धतासमेत बन्दै गयो।
बर्दिवास नगरपालिका अन्तरर्गत शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको विशेष कार्यक्रम ‘गुनासो सुनवाई, सुझाव संकलन तथा भावी योजना निर्माणका लागि बालबालिकासँग जनप्रतिनिधि’ नामक कार्यक्रमको यो एक झल्को मात्र हो।कार्यक्रम स्थल थियो—पञ्चधुरा मा वि, बर्दिवास–५ चेरु। कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री थिए भने, प्रमुख प्रशासकिय अधिकृत राममणि अधिकारी, वडा अध्यक्ष काहारमान स्याङ्बा, र शिक्षा शाखाका उपसचिव रेवती पराजुली लगायत विभिन्न शिक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।
तर यो औपचारिक उपस्थिति मात्र थिएन—कार्यक्रमको केन्द्रमा थिए विद्यार्थी, जसले समाजका गम्भीर मुद्दामा सशक्त प्रश्न र सुझाव प्रस्तुत गरे।
कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूले बाल विवाह, बाल श्रम, लागुऔषध दुव्र्यसन, विद्यालयको भौतिक अवस्था, अतिरिक्त क्रियाकलाप, र सुरक्षित पठनपाठनजस्ता विषयमा प्रश्न उठाए। यो संवाद एकतर्फी थिएन—प्रश्न मात्र थिएन, समाधानको खोजी थियो।
“बाल विवाह रोकिनु पर्दछ। यसमा नगर सरकारको भूमिका के रहन्छ?”—पञ्चधुरा माबि चेरुको कक्षा ८ का रजत पुर्बछानेले नगर प्रमुखलाई सोधे। प्रमुख क्षेत्रीले जवाफ दिंदै भने, “समाजको सोच परिवर्तन बालबालिकाबाट सुरु हुन्छ। तपाईंहरू सचेत बनिदिनुभयो भने समाजमा परिवर्तन ल्याउन सकिन्छ। हामी तपाईंहरूकै लागि अभियान सञ्चालन गरिरहेका छौं।”यदि चेतनाको कसैले दुरुपयोग गर्छ भने कानुन अनुसार दण्डित गर्न समेत हामी सहयोग गर्छौ
उपस्थित विद्यार्थीहरूको अनुहारमा प्रश्न मात्र होइन, आशा पनि देखिन्थ्यो—आशा कि उनीहरूको आवाजलाई अब उपेक्षा गरिने छैन।
प्रश्नकै क्रममा विद्यालयको भौतिक संरचनासँग सम्बन्धित गुनासोहरू सबैभन्दा धेरै उठेका थिए। शौचालयको सरसफाइ, कक्षा कोठाको अवस्थाजस्ता समस्याले विद्यार्थीको दैनिक जीवनमा असर पारेको छ।
श्री सेम नेपाल ढुङग्रेकी कक्षा १० की छात्रा नेहा राउतले भनिन्, “हामीसँग खेलकुदका सामान छैनन्। तर अपेक्षा चाहिँ धेरै हुन्छ।” उनका शब्दहरूले नगर प्रमुखलाई नै झस्क्यायो। प्रमुख क्षेत्रीले तुरुन्तै आश्वासन दिए—“शिक्षा तर्फको बजेट पुनरावलोकन गरेर आवश्यकता अनुसार प्राथमिकतामा राख्नेछौं।”
यसै क्रममा प्रमुख प्रशाशकिय अधिकृत राममणि अधिकारीले भने, “विद्यालय व्यवस्थापन समितिसँग सहकार्य गरेर बालमैत्री वातावरण बनाउन हामीले कार्यक्रमहरू अघि बढाइरहेका छौं। शिक्षा भनेको केवल किताब मात्रै होइन, सुरक्षा र सशक्तिकरण पनि हो।”
पञ्चधुरा माबि चेरुमा अध्ययनरत कक्षा १० की छात्रा निशा पौडेलले गम्भीर प्रश्न उठाईन—“हाम्रो साथीहरू नै विद्यालय नआइ लागुऔषध सेवनमा लागिरहेका छन्, हामी के गर्न सक्छौं?”
वडा अध्यक्ष काहारमान स्याङ्बाले जवाफ दिँदै भने,“समस्या हामी सबैको हो। विद्यालय,अभिभावक र नगरपालिका मिलेर सचेतना फैलाउने कार्यक्रम थाल्नेछौं। साथै, युवामैत्री स्वास्थ्य सेवा पनि विस्तार गरिने छ।”

कार्यक्रममा बालश्रम सम्बन्धी प्रश्नहरू पनि उठे—अनौपचारिक क्षेत्रमा काम गर्न बाध्य बालबालिकाको बिषयमा विद्यार्थीहरूले बिचार व्यक्त गरे। नगर प्रमुखको जवाफ थियो, “बालश्रम अन्त्य गर्न विद्यालय जानेलाई प्रोत्साहन र अभिभावकलाई सचेत गराउनु हाम्रो मुख्य प्राथमिकता हो।”
कार्यक्रममा ‘बर्दिवास नगरको चिनारी’‘बर्दिवास वर्णमाला’ पुस्तकको चर्चा पनि भयो। यी बालमैत्री प्रकाशनहरू विद्यार्थीसम्म अझै नपुगेकोप्रति विद्यार्थीहरूले चिन्ता व्यक्त गरे। नगर प्रमुखले पुस्तक वितरणमा ढिलाइ हुनु शिक्षक आन्दोलन र त्यसको प्रभाब रहेकाले यो बिषय दुःखद भएको बताए र छिट्टै पुस्तक उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको समापनमा शिक्षा शाखाका उपसचिव रेबती पराजुलीले सबै सुझावहरू लिखित रूपमा संकलन गरेर भावी योजनामा समावेश गरिने जानकारी दिए। “बालबालिकाको सुझावलाई हामी योजनामा रूपान्तरण गर्न चाहन्छौं,”उनले भने।
यसरी, गुनासोको रूपमा सुरु भएको संवाद योजनाको प्रारूप बन्ने प्रक्रियामा परिणत भयो।
बर्दिवास नगरपालिकाका जनप्रतिनिधिहरू विद्यालयमै पुगेर विद्यार्थीहरूसँग प्रत्यक्ष संवादमा उत्रिएको यो पहलले स्थानीय शासन र नागरिकबीचको दूरी घटाएको देखिन्छ। यो कार्यक्रम केवल एउटा दिनको संवाद मात्रै थिएन—यो सन्देश थियो कि बालबालिकाको आवाज अब सुन्ने गरिन्छ, लेखिने गरिन्छ, र योजनामा समावेश गरिन्छ।
यी आवाजहरू केवल प्रश्न थिएनन्, चेतनाका स्वर थिए। ती स्वरहरू अब भित्ताका नारामा मात्र सीमित नरही, नगरको भावी शैक्षिक नीतिमा प्रतिविम्बित हुने आशा गरिएको छ।
यस नगरपालिकालाई ‘बालमैत्री नगरपालिका’ भन्ने नारालाई मूर्त रूप दिन बालबालिकासँग प्रत्यक्ष संवादको अभ्यास गरीनु आफैंमा एक क्रान्तिकारी पहल हो। यसरी बालबालिकालाई योजना निर्माणको प्रारम्भिक तहमै सहभागी गराउनु लोकतन्त्रको अभ्यास मात्र होइन, सामाजिक रूपान्तरणको पूर्वाधार समेत हो। बर्दिवासले देखाएको यो अभ्यास अब अन्य नगरपालिकाहरूको लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ।





































