आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र बिद्यालय फर्किन सर्वोच्च अदालतको आदेश

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौँ
देशभरका शिक्षकहरू काठमाडौं पुगेर २० चैतदेखि आन्दोलन गरीरहेकाहरूलाई सर्वोच्च अदालतले तीन दिनभित्र काममा फर्किन आदेश दिएको छ । बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै तीन दिनभित्र फर्किन भनेको हो ।

शिक्षक महासंघको नेतृत्वको देशभरका शिक्षकहरू काठमाडौं पुगेर प्रदर्शन गरिरहेका छन् ।

‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ ।

अधिवक्ता श्रवणकुमार चौधरीले चैत १० गते शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य नै अन्योलमा परेको भन्दै रिट दायर गरेका थिए । सोही रिटमा बिहीबार सुनुवाइ भएको हो । सर्वोच्चको यो आदेशसँगै अब शिक्षक आन्दोलन समाप्त हुने अवस्था आएको छ ।

सर्वोच्चले शिक्षकहरूलाई तीन दिनभित्र पठनपाठनमा फर्किन र देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्न नगराउन आदेश जारी गरेको छ ।