आज्ञा खबर
सर्लाही
सिन्धुलीको तीनपाटन गाउँपालिका १० घर भई हाल सर्लाहीको लालबन्दीमा बस्दै पत्रकार शंकर पहाडी ठगी आरोपमा पक्राउ परेका छन्।
एसपी गौरव भनिने ३२ वर्षीय पहाडीलाई ठगी आरोपमा बुधबार बिहान लालबन्दी बजारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।
पहाडी राष्ट्रिय समाचार समिति सर्लाहीका सम्बाददातासमेत हुन्। उनले कमलामाई नामको अनलाइनसमेत सञ्चालन गर्दै आएका छन्।
कागजपत्र बिनाको बा२७ प २९५२ नम्बरको मोटरसाइल ५० हजार रुपैयाँमा बिक्री गरेर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको इप्रका हरिवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिल गिरीले जानकारी दिए।
इन्सपेक्टर गिरीका अनुसार उक्त मोटरसाकल सिन्धुलीका एक व्यक्तिलाई बिक्री गर्दा पहाडीले त्यसको सवारी दर्ता किताव १ हप्तापछि दिने र सम्बन्धित निकायबाट नामसारी गरीदिने भनेर ५० हजार रुपैयाँमा लिएका थिए। तर, अहिलेसम्म उक्त मोटरसाइकलको सवारी दर्ता किताव सम्बन्धित व्यक्तिलाई नदिएको र उक्त मोटरसाइकलसमेत निजको नाममा दर्ता नरहेको पाइएको प्रहरीले जनाएको छ।
मोटरसाइकल खरिद गर्ने सिन्धुलीका एक व्यक्तिले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको गिरीले बताए।
‘पहाडीलाई सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर बुधबार बिहान लालबन्दी नगरपालिका ६ स्थित लालबन्दी बजारबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएको गिरीले जानकारी दिए ।
पत्रकारिताको आवरणमा ठगी धन्दा चलाएको भन्दै प्रेस सेन्टर मधेस प्रदेशले पहाडीलाई एक वर्षअघि नै संगठनबाट निस्कासन गरेको थियो।