बर्दिबास
मंसिर २0
रुकुम पश्चिमको सोती घटनामा संलग्न ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले मंगलबार थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न २३ जनालाई कर्तव्य जन मुद्दामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।
त्यसैगरी ज्यान मुद्दामा प्रतिवादी बनाइएकी मृतक नवराज विककी प्रेमिका, उनकी आमा र उनका भाइलाई भने कर्तव्य ज्यान मुद्दामा सफाइ दिँदै जनही २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ताेक्दै जातीय छुवाछुतमा मात्रै दोषी ठहर गरिएको छ । यसअघि उनीहरूलाइ साधारन तारेखमा छाडिएकाे थियाे । यसअघि सर्वोच्च अदालतबाट धरौटीमा रिहाइ भएका ८ जनालाई भने अभियोग दाबीबाट पूर्ण सफाइ दिइएको रुकुम जिल्ला अदालतले जनाएकाे छ ।
२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विककाे प्रेमिका लिन नवराज सहित ६ जना युवा जाँदा सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेका थिए ।
हत्याको आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो । ३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो ।
२०७७ साल जेठ ३२ गते रुकुम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको सङ्ख्या बढी हुँदा सुनुवाइमै लामो समय लागेको थियो । मुद्दा दर्ता भएको ३६ महिनापछि उक्त मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ गरी मंगलबार फैसला गरिएको हो ।





































