छठको पहिलो दिन आज नहाय खाय गरीदै

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
हिन्दुहरुको श्रद्धा र निष्ठाको पर्व छठ शुक्रबारबाट सुरु भएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यो पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधिसँगै शुरु भएको हो।
कात्तिक शुक्ल तृतीयाकै दिन देखी बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट यो पर्व सुरु गर्ने चलन छ।
यसपालि तिथिको घटबढका कारण आज तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले मिथिलाको लोकपर्व छठ आज देखी सुरु भएको हो। निरामिष (सात्विक) भोजन सुरु गरेर छठको व्रत विधि सुरु हुने परम्परा छ।

छठको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई ‘नहाय–खाय’ भन्ने गरिन्छ। प्रायः धेरे जसो महिलाहरु ब्रत बस्ने छठ पर्व प्रारम्भ भएसँगै चोखो नितो भएर सम्पूर्ण विधिहरु गर्नुपर्ने मान्यता रहेको महोत्तरी बर्दिवासका जानकार महेश कुमार झा बताउछन । छठको पहिलो दिन आज ‘नहाय खाय’ विधि गरीने भएकाले हिजोदेखिनै ब्रतालु महिलाहरुले माछा, मासु, लसुन, प्याजसहित ब्रतमा प्रतिबन्ध गरिएका सामग्रीहरु नखाने मान्यता रही आएको उनको भनाई छ । छठ पर्वको दोस्रो दिन ‘खरना’विधि गरिन्छ। देशभर तथा छिमेकी राष्ट भारतमा समेत भव्यतापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन भोली ब्रतालुहरुले रातिमा मिठा,सख्खरमा बनाइएको खीर खाने विधिलाई‘खरना’भन्ने गरिन्छ।

छठ प्रारम्भसँगै मिथिला तथा महोत्तरीका धार्मिक महत्वका तलाउ र नदी बेहुली जस्तै सिङ्गारिएका छन्। अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महत्वपूर्ण पर्व छठको तयारी जोडतोडका साथ सुरु भएको छ। नियम निष्ठा र विधिपूर्वक मनाइने साझा सांस्कृतिको रुपमा रहेको छठ पर्व भागवान सूर्य देवको उपासना गरिने भएकोले व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दुध, माटोको हात्ति, ढकनी, लगायतका फलफुल तथा खानेकुरा चढाउने परम्परा रहेको छ। छठ पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन एक बिहानै नुहाई धुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मर सम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा रही आएको छ। तराई मधेशमा यस विधिलाई साँझको अर्घ अर्थात ‘सझुका अर्घ’ भनिन्छ।

पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ। बिहानको उदाउँदो सूर्यलाई दिइने अघलाई ‘भोरका अर्घ’ भनिन्छ ।