भनिन्छ, देश, काल र परिस्थितिले कविहरु जन्माउँछ । पञ्चायती व्यवस्थाले जन्माएका कविमध्ये एक हुन्, साहित्यकार डा. अमर गिरी, जो लामो समयदेखि प्रगतिशील साहित्यका क्षेत्रमा समर्पित छन् ।
२०१७ सालमा राजा महेन्द्र देश दौडाहामा निस्किएका समयमा उनको जन्म भएको थियो । स्कुल पढ्नेताका उनको गाउँ (दाङको तत्कालीन रामपुर गाउँपञ्चायत)मा काङ्ग्रेस र कम्युनिस्टबीचको बहस र विवाद खुब चल्थ्यो । उनी पढ्ने विद्यालयमा कम्युनिस्टहरूको प्रभाव बढ्ता थियो । सानैदेखि उनी कम्युनिस्टहरूको प्रभावमा परे । ‘सानैदेखि कम्युनिस्टहरुकोे सङ्गत भएकाले ममा मार्क्सवादी चेतनाको विकास भयो,’ गिरी भन्छन्, ‘साहित्यका विभिन्न प्रवृत्ति र धारा छन्, प्रगतिशील पनि साहित्यको एउटा धारा हो, एउटा दृष्टिकोण र प्रवृत्ति हो ।’
गाउँकै विद्यालयबाट एसएलसी, दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक, संस्कृत विश्वविद्यालयबाट बीएड उत्तीर्ण, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरपछि उनले ‘समकालीन प्रगतिवादी नेपाली कवितामा वर्गद्वन्द्वको अभिव्यक्ति’ विषयमा विद्यावारिधि गरे । अहिलेसम्म उनका पाँचवटा कविता संग्रह, पाँचवटा समालोचनाका पुस्तक र आधा दर्जन बढी उनले सम्पादन गरेका पुस्तक प्रकाशित छन् । यतिखेर उनी एउटा कविता संग्रह र एउटा समालोचनाको पुस्तकको तयारीमा छन् ।
उनको बुझाइमा जुन परिमाणमा नेपाली साहित्य लेखिँदै आएका छन्, त्यही परिमाणमा गुणस्तरीय समालोचना आएका छैनन् । ‘नेपाली समालोचना अपेक्षाकृत रुपमा बलियो हुन सकेको छैन । नेपाली साहित्यलाई अझ समृद्ध बनाउन गम्भीर समालोचना आवश्यक छ,’ उनी भन्छन्, ‘यसका लागि समालोचकले मात्रै होइन, साहित्यिक स्रष्टाहरुले पनि रचनात्मक ढंगले सोच्नुपर्छ । नेपाली समालोचनाले आफूलाई पुनः गम्भीर ढंगले मूल्यांकन गर्न समेत आवश्यक छ ।’
पञ्चायतीकालीन साहित्यकार
गिरीले सानैदेखि आमाबाट लोककथा, लोकगीतहरू सुन्दै आए । उता विद्यालयमा हुने विविध साहित्यिक कार्यक्रममा उनी सहभागी हुन्थे, अरुले कविता वाचन गर्दा ध्यान दिएर सुन्थे । उनलाई पनि केही लेखौँ जस्तो हुन थाल्यो, तर लेखनको विषय के बनाउने ?
सानैदेखि उनले गाउँघरमा विद्यमान धनी–गरिबबीचको गहिरो खाडल नियाल्न सक्थे । समाजमा कोही अत्यन्तै धनी, कसैलाई लाउन–खानकै समस्या हुन्थ्यो । धनीले गरिबमाथि शोषण गरेको देख्दा उनलाई कता–कता पोल्थ्यो । ‘यिनै विषयले मनमा पारेको प्रभावलाई मैले कविताका माध्यमबाट अभिव्यक्त गर्न थालेँ,’ उनी भन्छन्, ‘कक्षा १० मा पुगेपछि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाललाई पढियो । त्यस्तै दाङका अग्रज कवि नेत्रलाल पौडेल अभागी, नारायणप्रसाद शर्मा, गिरिराज शर्मा लगायतका कविता पढ्ने सुन्ने मौका मिल्यो । उहाँहरू सबैको प्रभाव ममा परेको छ ।’
२०३६ सालको अनेरास्ववियु छैटौँको केन्द्रीय उपाध्यक्ष हुन् गिरी । २०३५–३६ सालको आन्दोलनभन्दा पहिले विद्यार्थी संगठन मुखर रुपमा थिएन । प्रजातान्त्रिक र वामपन्थी विद्यार्थी संगठित भई आ–आफ्नो ढंगले काम गर्थे । विद्यार्थी आन्दोलनका बेला उनी केही समय जेल परे ।
गिरीको साहित्य सिर्जना स्कुलेजीवनदेखि नै सुरु भयो । ‘आमा’ शीर्षकको उनको पहिलो कविता बनारसबाट निस्कने ‘सन्देश’ पत्रिकामा छापिएको थियो, २०३१ सालमा । त्यसबेला उनी कक्षा ८ मा अध्ययन गर्दै थिए । विद्यार्थी बनारस बसेर अध्ययन गर्ने दाङका विद्यार्थीले साहित्यिक पत्रिका सन्देश निकाल्थे । यस पत्रिकामा कविता छापिएपछि उनको हौसला बढ्न थाल्यो । ‘त्यतिबेला मैले पढ्ने विद्यालयमा भित्ते साहित्य पाटी थियो,’ गिरी भन्छन्, ‘कविता लेखेर भित्तामा टाँस्थ्यौँ, विद्यार्थीले पढ्थे ।’
मार्क्सवादी साहित्यकारहरूले राजनीति र साहित्यलाई अलग्याएर हेर्दैनन् । साहित्यका माध्यमबाट पनि समाज बदल्न सकिन्छ भन्ने मान्यता उनीहरुको हुन्छ ।
केही समयपछि दाङबाटै ‘युगबोध’ पत्रिका प्रकाशन हुन थाल्यो । त्यसमा उनका कविता प्रकाशित हुन थाले । यसपछि ‘नेपाल पोस्ट’, ‘वेदना’, ‘हल्कारा’ लगायत विभिन्न पत्रपत्रिकामा उनका रचना प्रकाशित हुन थाले । यसरी सुरु भएको लेखन यात्राले उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ तथा कविता विभागको प्रमुख समेत बनायो ।
विसं २०५५ मा उनको पहिलो कविता सङ्ग्रह ‘घाम छेक्ने पहाड’ प्रकाशित भएको थियो । उनी भन्छन्, ‘मोहन दुवाल जो जनमत पत्रिका बनेपाबाट प्रकाशन गर्नुहुन्छ, उहाँले मेरो पहिलो कृति प्रकाशन गरिदिनुभएको हो ।’ मोहन दुवाल गिरीका एकदमै मिल्ने साथी हुन् । उनले गिरीका धेरै कविता प्रकाशित पनि गरेका छन् ।
प्रगतिशील साहित्यकारहरू पञ्चायती व्यवस्थाका आलोचक थिए । उनीहरू राजतन्त्रको आलोचना गर्थे । त्यसैले उनीहरूमाथि सरकारको निगरानी भइरहन्थ्यो । ‘कतिपय साहित्यकार पक्राउ पनि पर्थे, जेल हालिन्थ्यो,’ गिरी भन्छन्, ‘राजनीति र साहित्य दुवैतिर सम्बद्ध भएकाले म पनि जेल परेँ ।’
मार्क्सवादी साहित्यकारहरूले राजनीति र साहित्यलाई अलग्याएर हेर्दैनन् । साहित्यका माध्यमबाट पनि समाज बदल्न सकिन्छ भन्ने मान्यता उनीहरुको हुन्छ । ‘साहित्य क्षेत्रमा पनि जोखिम थियो । कृष्ण सेन ‘इच्छुक’ त प्रगतिशील साहित्य सिर्जना गरेकै कारण मृत्युदण्ड दिइयो । दि कौडिन्य भन्ने हुनुहुन्थ्यो विराटनगरतिरका उहाँ पनि लेखक हुनुहुन्थ्यो, त्यही कारण मारिनुभयो,’ गिरी भन्छन्, ‘यस्ता कैयौँ प्रगतिशील साहित्यकारहरू छन्, जो जनताका पक्षमा साहित्य लेखेकै कारण मारिएका छन् ।’
गिरीले जीवन निर्वाहका लागि ०३७ सालदेखि शिक्षण पेसा अपनाए । स्कुल पढाउन थाल्दा आईए पूरा भएको थिएन, विद्यार्थी आन्दोलनको असर शैक्षिक सत्रमा पनि परेको थियो । त्यसपछि शिक्षण पेसामा लागे ।
२०३७ सालबाट रुकुमको चौरजहारीको एक विद्यालयमा पढाउन सुरु गरेका थिए, त्यतिबेला थवाङ घटना भएपछि उनी त्यहाँबाट हिँडे । थवाङ घटना भयो, अर्थात् पञ्चायती चुनाव बहिष्कार हुँदा सरकारद्वारा मेजर अपरेसन गरिएको थियो । ‘अञ्चल प्रशासनले वारेन्ट जारी ग¥यो र पत्र काट्यो,’ उनी भन्छन्, ‘त्यसपछि काठमाडौँ आएँ ।’
केही समय काठमाडौँको बसाइपछि उनी पुनः गृहजिल्ला फर्किएर आफैँले पढेको स्कुलमा पढाउन थाले । विभिन्न स्कुलमा करिब १७ वर्ष पढाएपछि २०६० सालमा उनी काठमाडौँ आए र कलेज पढाउन थाले । पाटन कलेज, निम्स कलेजमा पढाउँदै गर्दा उनले चलचित्र विकास बोर्डमा कार्यकारी अध्यक्षको नियुक्ति पाए ।
३५ वर्ष शिक्षण पेसामा बिताउँदा पनि उनी स्थायी हुन पाएनन् । ‘त्यसबेला सरकारी जागिर खान पुलिस रिपोर्ट चाहिन्थ्यो,’ उनी भन्छन्, ‘राजनीतिक चेत भएकाले म दुईपटक जेल परेँ, दर्जनौँपटक हिरासतमा बसेँ, त्यसैले स्थायी हुन सकिनँ ।’
सरकारी सेवामा स्थायी हुन नसके पनि उनलाई सरकारले २०७२ नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञका रूपमा नियुक्त ग¥यो । त्यसपछि उनले अध्यापन पेसा छाडे । प्रज्ञामा उनले काव्य विभाग प्रमुख भएर करिब चार वर्ष काम गरे । अहिले उनी भाषा आयोगमा सदस्य छन् ।
‘एकातिर वैचारिक समस्या छन्, अर्कातिर रचनागत कमजोरी,’ उनी भन्छन्, ‘प्रगतिशीलताका नाममा गैरप्रगतिशील दृष्टिकोण आजको गम्भीर कमजोरी हो । तसर्थ प्रगतिशील स्रष्टाहरूले आफ्नो लेखनलाई अझ धारिलो बनाउन जरूरी छ ।’
प्रगतिशील लेखन
२००९ सालमा प्रगतिशील लेखक सङ्घको स्थापना भएको हो, त्यसअघि नै प्रगतिशील धारले टाउको उठाइसकेको थियो । इतिहासको तुलनामा प्रगतिशील साहित्य निकै समृद्ध भइसकेको गिरी बताउँछन् । प्रगतिशील चेतले भरिएका कविता सङ्ग्रह, खण्डकाव्य, महाकाव्य, कथा सङ्ग्रह, उपन्यास लगायत साहित्यका विविध विधामा प्रशस्त कृतिहरू लेखिएका छन् ।
प्रगतिशील लेखनमा केही कमजोरी पनि रहेको उनी ठान्छन् । ‘एकातिर वैचारिक समस्या छन्, अर्कातिर रचनागत कमजोरी,’ उनी भन्छन्, ‘प्रगतिशीलताका नाममा गैरप्रगतिशील दृष्टिकोण आजको गम्भीर कमजोरी हो । तसर्थ प्रगतिशील स्रष्टाहरूले आफ्नो लेखनलाई अझ धारिलो बनाउन जरूरी छ ।’
प्रगतिशील लेखकले सामाजिक जीवनका विविध पक्षलाई समेटेर कलात्मक ढंगले प्रस्तुत गर्नुपर्ने उनको आग्रह छ । हामीले गणतन्त्र त स्थापना ग¥यौँ, तुलनात्मक रूपमा विगतको भन्दा राम्रो संविधान पनि बनाएका छौँ, तर नेपाली समाजलाई आमूल परिवर्तनको दिशातिर लिएर जाने काम अझै पूर्ण रूपले भइसकेको छैन । ‘अझै पनि नेपाली समाजमा वर्गीय विभेद, जातीय विभेद, लैङ्गिक विभेद र अवैज्ञानिक चिन्तन हाबी छ,’ उनी भन्छन्, ‘मुलुक आर्थिक, सामाजिक, राजनीतिक दृष्टिकोणबाट अहिले पनि पछाडि छ । हामीले त यस्तो समाजको निर्माण गर्ने ध्येय राख्नुप¥यो — त्यो वास्तवमै स्वतन्त्र र सामाजिक न्यायमा आधारित समतामूलक होस् । विभेदका कुनै पनि पर्खाल र उत्पीडनका कुनै पनि रूप नहोऊन् ।’
आर्थिक, सामाजिक, सांस्कृतिक रूपले नेपाली समाज आमूल रूपले रूपान्तरण हुन अझै बाँकी रहेको उनको बुझाइ छ । प्रगतिशील साहित्यकारहरूले यो कुरालाई केन्द्रमा राखेर कलम चलाउनुपर्ने उनी बताउँछन् । ‘हामी पुँजीवादी संरचनामा छौँ । समाजवादी क्रान्तिबिना वास्तविक स्वतन्त्रता, समानता, सामाजिक न्यायको प्राप्ति एवं उत्पीडनका समस्त रूपहरूबाट मुक्त हुन सम्भव छैन,’ उनी भन्छन्, प्रगतिशील लेखकहरू यस विषयमा गम्भीर बन्नुपर्नेछ ।’
नेपाली समाजमा छाउपडी प्रथा छ, जसलाई हामीले संस्कृतिकै रूपमा मानेका छौँ ।
सांस्कृतिक क्रान्ति
सांस्कृतिक क्रान्तिलाई उनी समाजको सकारात्मक परिवर्तन भनी परिभाषित गर्छन् । उनको बुझाइमा सांस्कृतिक क्रान्ति भनेको सांस्कृतिक रूपमा समाजलाई बदल्नुु हो । ‘हाम्रा संस्कृतिभित्रका नराम्रा पक्षलाई छाड्नु, राम्रा पक्षलाई अझ परिष्कृत गर्नु र नयाँ संस्कृतिको निर्माण गर्नु नै सांस्कृतिक क्रान्ति हो,’ उनी भन्छन्, ‘समाजले अँगाल्दै आएका संस्कृतिभित्र छोड्नुपर्ने धेरै कुरा छन् । हाम्रो समाज अझै पनि भाग्यवादी छ । भाग्यमाथि विश्वास गर्ने मानिसले परिश्रममाथि विश्वास गर्दैन ।’
नेपाली समाजमा छाउपडी प्रथा छ, जसलाई हामीले संस्कृतिकै रूपमा मानेका छौँ । गिरीको बुझाइमा विभेदकारी संस्कृतिलाई त्याग्ने र राम्रा पक्षलाई अझ समृद्ध गर्ने गरी सिर्जना गर्नु आजका प्रगतिशील लेखकको जिम्मेवारी हो । ‘संस्कृतिले मानिसलाई पौरखी र परिश्रमी बनाओस्, मानिसलाई तार्किक र आलोचनात्मक बनाओस्, मानवीय र सहिष्णु बनाओस्,’ उनी भन्छन्, ‘यस्तो संस्कृतिको विकास गर्ने भनेको हो ।’
यसर्थ नेपाली समाजको सांस्कृतिक रूपान्तरणलाई प्रगतिशील स्रष्टा एवं नेपालको कम्युनिस्ट आन्दोलनले उच्च महत्त्व दिनुपर्ने धारणा उनको छ । ‘सांस्कृतिक क्रान्ति वा रूपान्तरण सांस्कृतिक रूपमा समाजलाई फेर्ने कुरासँग सम्बन्धित छ । यो प्रगतिशील स्रष्टा एवं कम्युनिस्ट आान्दोलनले आफूलाई फेर्ने कुरासँग पनि सम्बन्धित छ,’ उनी भन्छन्, ‘हामी सामन्तवादी एवं पुँजीवादी संस्कृतिको उत्पीडनको सिकार छौँ । हाम्रो सङ्घर्ष यी दुवैका विरुद्ध हुनुपर्छ ।’
प्रधानमन्त्री प्रचण्डले भारतको कूटनीतिक भ्रमणका बेला उज्जैनको एक मन्दिरमा गेरुवस्त्र लगाएर पूजाआजा गरेकोप्रति उनी सहमत देखिएनन् । ‘संवैधानिक व्यवस्था अनुसार हाम्रो मुलुक धर्मनिरपेक्ष मुलुक हो । शासनको माथिल्लो आसनमा बस्ने, मुलुक चलाउने व्यक्तिले संविधानको यो मर्मलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भने, ‘आफूलाई कम्युनिस्ट भन्नेहरू त यसमा अझ गम्भीर बन्नुपर्छ । यसो भएको देखिन्न । यो दुःखलाग्दो पक्ष हो ।’ धर्मनिरपेक्षता व्यवहारमा प्रदर्शन गर्न सक्नुपर्ने उनको धारणा छ ।