आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका ले ऊर्जा रूपान्तरणतर्फ एउटा अर्थपूर्ण पाइला अघि बढाएको छ। परम्परागत इन्धनमा निर्भर जीवनशैलीलाई परिवर्तन गर्दै स्वच्छ, सुरक्षित र दिगो ऊर्जाको प्रयोगलाई प्राथमिकता दिन थालेको नगरपालिकाले वडा नम्बर १ बाट विद्युतीय चुलो वितरण कार्यक्रम सुरु गरेको हो।

नगरको वडा नम्बर १ को कार्यालयमा शुक्रबार आयोजित एक बिशेष कार्यक्रममा वडाभित्रका ७२ घरधुरीलाई २ हजार वाट क्षमताका इन्डक्सन चुलो हस्तान्तरण गरियो। सामान्य वितरण कार्यक्रमभन्दा फरक, यो पहल ऊर्जा उपयोगको सोचमै परिवर्तन ल्याउने प्रयासका रूपमा देखिएको छ। गाउँघरमा दाउरा, कोइला वा एलपी ग्यासमा आधारित भान्सालाई अब विद्युत्सँग जोड्ने प्रयासले स्थानीय जीवनशैलीमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यस कार्यक्रमको विशेषता यसको बहु–साझेदारी लगानी मोडेल हो। जस्मा नगरपालिकाको १९.०९ प्रतिशत, हरित जलवायु कोष को १० प्रतिशत, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र को ४७.९७ प्रतिशत र उपभोक्ताको २२.९४ प्रतिशत आर्थिक लगानीमा यो कार्यक्रम कार्यान्वयन गरिएको हो। जस्को साझेदारीले स्थानीय तह, सरोकारवाला निकाय र नागरिकबीचको सहकार्यलाई स्पष्ट रूपमा देखाएको छ।
बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री को पहलमा अघि बढाइएको यो कार्यक्रम प्रविधि वितरणमा मात्रै सीमित छैन, बरु सामाजिक न्याय र समावेशितासँग पनि जोडिएको छ। कार्यक्रमको पहिलो चरणमा दलित समुदाय, फरक क्षमता भएका व्यक्ति तथा एकल महिलालाई प्राथमिकता दिइनु यसको प्रमाण हो। यसले ऊर्जा पहुँचलाई समानतामूलक बनाउने दिशामा महत्वपूर्ण संकेत दिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख क्षेत्रीले पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिका कारण एलपी ग्यास आपूर्तिमा देखिएको अस्थिरता र अभावतर्फ ध्यानाकर्षण गराए। “अबको समय परम्परागत इन्धनमा सीमित रहने होइन,” उनले भने, “विद्युत् जस्तो स्वच्छ र दीगो ऊर्जालाई दैनिक जीवनसँग जोड्ने समय हो।” उनका अनुसार विद्युत् प्रयोगले वातावरण संरक्षण मात्र होइन, दीर्घकालीन रूपमा घरपरिवारको आर्थिक भार पनि घटाउनेछ।
वडा नम्बर १ का अध्यक्ष भोला खड्काले यस कार्यक्रमलाई स्थानीय स्तरमा सकारात्मक परिवर्तनको सुरुआतका रूपमा व्याख्या गरे। उनका अनुसार विपन्न र लक्षित समुदायका लागि यो कार्यक्रमले प्रत्यक्ष राहत पु¥याएको छ। “अब स्थानीयवासी सुरक्षित र सस्तो माध्यमबाट खाना पकाउन सक्षम हुनेछन्,” उनले बताए।
विद्युतीय चुलो प्राप्त गरेपछि स्थानीयवासीमा समेत उत्साह देखिएको छ। ग्यास अभावको समस्या घट्ने, दाउरा संकलनको झन्झट कम हुने र समय बचत हुने विश्वास उनीहरूले व्यक्त गरेका छन्। विशेषगरी महिलाहरूका लागि यो परिवर्तनले श्रम घटाउने र स्वास्थ्य जोखिम कम गर्ने अपेक्षा गरिएको छ।

नगरपालिकाले यो पहललाई दीर्घकालीन योजनासँग जोडेको छ। आगामी दिनमा तीन तहमा कार्यक्रम विस्तार गर्दै सबै वडामा विद्युतीय चुलो, सुधारिएको चुलो र घरायसी बायोग्यास वितरण गर्ने लक्ष्य लिइएको छ। यस योजनाले दाउरा तथा एलपी ग्यासको प्रयोग घटाउँदै वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत योगदान पु¥याउने विश्वास गरिएको छ।
हाल देखिएको बर्दिवास नगरपालिकाको ऊर्जा रूपान्तरणको यो प्रयास केवल प्रविधिको विषय मात्रै होइन, यो जीवनशैली परिवर्तनको प्रक्रिया समेत हो। बर्दिवास नगरपालिका को यो प्रयासले स्थानीय तहको एउटा बडाबाट सुरु भएको सानो पहलले कसरी ठूलो प्रभाव पार्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
यदि यस्ता कार्यक्रमहरू निरन्तरता र विस्तारका साथ अघि बढे भने, यसले देशव्यापी रूपमा स्वच्छ ऊर्जातर्फको यात्रालाई थप गति दिन सक्ने देखिन्छ।





































