गगन अयडी
बाजुरा:बाजुराको बडिमालिका नगरपालिका– ९ का प्रकाश विक र कञ्चनपुरकी पार्वती सुनारको आज सोमबार विवाहको साइत थियो। बेहुलाबेहुली बडिमालिका नगरपालिकास्थित बडिमालिका मन्दिरमा विवाहका लागि जाने तयारीमा थिए।
मन्दिरका मुख्य पुजारी देवराज पाध्यायलाई आइतबार बिहानै सम्पर्क गरी सोमबार बिहान ७ः३० बजेको साइतमा मन्दिरमा विवाह गराइदिन आग्रह गरिएको थियो। प्रकाशका आफन्त सुरेश विकका अनुसार पुजारी पाध्याय विवाह गराउन मञ्जुर भए। तर, सबै तयारी सकेर बिहान मन्दिर पुग्दा पुजारी पाध्याय मन्दिरको मुख्य ढोका बन्द गरेर फरार भएका सुरेशका अर्का आफन्त धीरेन विकले बताए।
‘पुजारीको पर्खाइमा बस्दा विवाहको साइत घर्कँदै गयो। ब्राह्मण आउलान् भनेर चार घन्टासम्म मन्दि बाहिर कुरेर बस्यौँ। पुजारीलाई फोन गर्दा सम्पर्क हुनै सकेन। चार घन्टापछि मन्दिरबाहिर टीका लगाएर सामान्य विवाह गरेर फर्कियौँ,’ उनले भने।
विधिवत् विवाहकै लागि पार्वती दुई महिनाअघि कञ्चनपुरबाट बाजुरा आएकी थिइन्। प्रकाश भन्छन्, ‘हामीलाई मन्दिरभित्र पस्नु नै थिएन। देवीलाई चढाउने पूजाको सामान पुजारीले राखिदिए भइहाल्थ्यो।’ पुजारी नआएपछि उनीहरू मन्दिरको झ्यालबाट देवीलाई प्रसाद चढाएर फर्किए।
पुजारी देवराज पाध्यायका छिमेकीहरूका अनुसार उनी बिहानै मन्दिरमा आराधना सकेर सदरमुकामबाहिर काम छ भन्दै निस्केका थिए। उनी अझै सम्पर्कविहीन छन्।
यता, प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का बडिमालिका– ९ का वडाध्यक्ष सूर्यकिरण विकले फोन गरेर घटनाबारे सामान्य जानकारी गराए पनि आधिकारिक रूपमा कुनै सूचना नआएको बताउँछन्। ‘दलित मन्दिरमा विवाह गर्न गएकै कारण सार्वजनिक मन्दिरको ढोका बन्द गरी भागेकै हुन् भने कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने।