वीरगञ्जदेखि काठमाडौं पैदलयात्रा

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
पर्साको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन चुरे तथा वनजङ्गल संरक्षण अभियानले वीरगञ्जदेखि काठमाडौंसम्मको पदयात्रा सुरु गरेको छ ।
सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिने उद्देश्यले अभियानका संयोजक सुनिल यादवको नेतृत्वमा अभियान्ता पैदलयात्रा सुरु गरेका हुन् । प्रदूषित सिर्सिया नदीको पानी बोकेर पैदलयात्रामा निस्केको अभियनता सरोजराय यादवले बताए।

वीरगञ्जबाट सुरु भएको पैदलयात्रा ११ औँ दिनमा राजधानी काठमाडौं पुग्ने र सिंहदरबार अगाडि सिर्सिया नदीको पानी पोखेर विरोध जनाउने कार्यक्रम तय भएको उनले जानकारी दिए । यसपछि पनि सरकारले ध्यान नदिए माइतीघरमा धर्ना बस्ने कार्यक्रम रहेको उनको भनाइ छ ।

सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले पनि अभियान चलाउँदै आएको छ । नदी प्रदूषण गर्ने जो कसैलाई पनि कारबाही गर्ने रणनीति अनुसार नदीमा फोहोर गर्नेलाई महानगरपालिकाले जरिवाना गरिसकेको छ ।

पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट निष्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको छ । महानगरले उद्योगलाई पनि कारबाही गर्ने तयारी अनुरुप मरियम लेदरसहित पाँच वटा उद्योगलाई पत्र नै पठाएर चेतावनी दिएको छ ।

सिर्सिया नदीलाई फोहोर रहित बनाउने महानगरपालिकाको लक्ष्य भएकाले जथाभावी फोहर नफ्याँक्न पटक पटक आग्रह गरे पनि उद्योगीले बेवास्ता गर्दै आएकाले कारबाही गर्न लागेको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बताए ।

सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले नदीमा फोहर र रसायनयुक्त पानी सिधै मिसाउँदै आएका उद्योगको अनुगमनसमेत गरेको थियो । महानगरका उपप्रमुख इम्तियाज आलम नेतृत्वको अनुगमन टोलीले केही महिनाअघि श्री निधि टेक्सटाइल्स प्रालि, ब्रिटानीया नेपाल प्रालि, शक्ति दाल मिल र शक्ति वायरमा पुगेर अनुगमन गरेका थिए।

अनुगमनका क्रममा ती उद्योगले उद्योगबाट निस्कने फोहर पानी सोझै नदीमा मिसाउने गरेको पाइएपछि फोहर व्यवस्थापन गर्न उद्योगीहरुलाई सुझाव दिएपनि कार्यान्वयन नभएपछि कारबाही गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ ।

सिर्सिया नदी सफा बनाउने अभियनमा उद्योगीले आफ्ना उद्योगमा ट्रिटमेण्ट प्लाण्ट राखेर सहयोग गर्नुपर्नेमा उद्योगी जिम्मेवारीबाट पन्छिँदै आफ्नो स्वार्थ मात्रै हेर्ने गरेकाले अब सिधै कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।
यसै क्रममा सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दैै पटकपटक आन्दोलन गर्दै आएका छन् । रासस

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...