जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत सहायक प्रहरी निरीक्षक (सई) विनोद विष्ट पक्राउ परेका छन् ।
शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले उनलाई घुस रकमसहित काठमाण्डुबाट पक्राउ गरेको छ । उनले निर्माण व्यवसायीसँग भवन निर्माणको समय (म्याद) थप गराइदिने प्रयोजनको लागि घुस रकम माग गरेको अख्तियारको प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् । उनका अनुसार सई विष्टको साथबाट अख्तियारको टोलीले घुस बापतको ५० हजार नगद र १ लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको छ । उनलाई काठमाण्डुको नयाँ बानेश्वरस्थित एक रेष्टुरेन्टबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।