औषधि र उपचार खर्च तिर्न नसकेपछि तीन दिनदेखि अस्पताल मै शव

[sharethis-inline-buttons]

औषधि र उपचार वापत लागेको सम्पूर्ण खर्च तिर्न नसकेपछि विराटनगर स्थित न्यूरो अस्पतालबाट परिवारले ३६ वर्षीय वीरेन्द्र सदाको शव ल्याउन सकेका छैनन् ।

सिरहाको मिर्चैया नगरपालिका–५ का सदाको उपचार कै क्रममा तीन दिन अघि मृत्यु भएको श्रीमती मालती देवी सदाले बताइन् । अत्यन्त विपन्न परिवारका सदा मस्तिष्कघात भइ गत चैत २७ गते सो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उनको उपचार कै क्रममा बैशाख १९ गते मृत्यु भएको थियो । तर उपचार खर्च नतिरेको भन्दै अस्पतालले सदाको शव परिवारलाई नबुझाएको श्रीमती सदाले बताइन् । मृतकका भतिजा अभिषेकले अस्पतालले काकाको उपचार वापतको बाँकी वक्यौता सम्पूर्ण रकम न बुझाएका कारण शव लिएर जान नदिएको बताए । परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचार र औषधि वापतको बाँकी रकम तिर्न सक्ने अवस्था नरहेको उनले बताए । मृतकका आफ्न्तले अस्पतालमा जग्गा बेचेर २ लाख रुपैयाँ बुझाएका छन् ।

लामो समय भेन्टिलेटर तथा आइसियूमा राखिएकोले औषधि र उपचार खर्च लम्बिएको भन्दै अस्पताले थप तीन लाख रकम माग्ने गरेको सदाकी श्रीमती मालतीले बताइन । “भएको जग्गा पनि बेची सके, अब कसैले ऋण पनि दिन मानेका छैनन, उनले भनिन अस्पतालले पूरा पैसा नपाएसम्म शव दिन न सकिने भन्दै फर्काइ दिएको छ ।” मृतकका छोरा अंकितले औषधि वापत आइएन फार्मेसीको ३ लाख तथा उपचार वापत अस्पताललाई ३ लाख तिर्न बाँकी रहेको बताए । अस्पतालले उपचार खर्च वापत ३ लाख भन्दा बढी रुपैयाँ बाँकी रहेको जनाएको छ । अस्पतालका प्रशासन अधिकृत मातृका पोखरेलले औषधि बाहेक उपचार खर्च मै ३ लाख ३५ हजार बाँकी रहेको बताए । उनले बाकी सम्पूर्ण रकम नभए पनि अस्पताललाई पनि समस्या नहुने गरी आफ्न्तले यथोचित रकम बुझाए शव दिन तयार रहेको बताएका छन् । शव ल्याउन र अस्पताललाई खर्च वापतको बाँकी रकम जुटाउन अहिले स्थानीय समाजसेवी पचु माझी मुसहरले सहयोग संकलन अभियान शुरु गरेका छन् । उनले तीन दिन यता शुरु गरेको प्रयासमा बिहीबारसम्म ४८ हजार ५ सय रुपैयाँ सहयोग संकलन भएको बताए । उनले सहयोग संकलन अभियान सिरहा र सप्तरीमा चलाइएको जानकारी पनि दिए । अन्य जिल्लाबाट समेत सहयोगको आश्वासन आइरहेको उनले जनाएका छन् ।