घुस मागेको आरोपमा जिल्ला प्रशासन कार्यालय पर्साले नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठलाई दुई घण्टा नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका भित्रका सार्वजनिक ऐलानी जग्गा नाप जाँच गर्न प्रमुख जिल्ला अधिकारीकै रोहबरमा बसेको बैठकले गरेको निर्णय अनुसार काम गर्न आलटाल गर्नुका साथै घुस माग गरेपछि नापी प्रमुख श्रेष्ठलाई दुई घण्टा नियन्त्रणमा राखिएको जनाइएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जिल्ला प्रशासन कार्यालयमा भएको निर्णय बमोजिम जग्गा नापजाँच गरिदिन पटक–पटक आग्रह गर्दा पनि नापी प्रमुख श्रेष्ठले अटेर गर्दै आएका थिए ।
महानगर अन्तर्गतको नगर विकासको जग्गामा रहेको सडकको नापजाँच एक हप्ता भित्रमा सक्ने सहमतिपछि नापी प्रमुख श्रेष्ठलाई छाडिएको छ । आउँदा दिनमा सेवाग्राहीलाई झुलाउने र दुःख दिने प्रवृत्ति नदोहो¥याउने कागज बनाएर श्रेष्ठलाई छाडिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । यता महानगर प्रमुख सिंहले नापी प्रमुखले प्रमुख जिल्ला अधिकारीकै रोहबरमा भएको निर्णय बमोजिम काम गर्न आलटाल गरेपछि कारबाहीका लागि आफूले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको बताएका छन् ।
