काठमाडौँ: लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै एक युवतीले युवककै घरमा पुगेर आत्महत्या गरेकी छिन् । केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी छिन् ।
प्रहरीका अनुसार सुजनको परिवारले विवाह गर्न नमानेपछि हिजो अपराह्न पौने ४ बजे ती युवतीले आत्महत्या गरेकी हुन् । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्दै आएका छन् ।
अनुमाका परिवार चितवनको नारायणगढबाट काठमाडौं आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले सुजनविरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन् ।नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ आएपछि शनिवार राती मुचुल्का तयार पारी शव उठाइएको छ । लामो समय प्रेम सम्बन्धमा रही दुईपटक गर्भपतन समेत गराइसकेकी प्रेमिकालाई विवाह नगरी अलपत्र पारेको र प्रेमीका बुवाले समेत विवाह गरी घरमा भित्राउन अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिने तयारी गरेको मृतककी काकी सिर्जना श्रेष्ठले बताइन् । आफूहरू यतिबेला प्रहरी वृत्त बालाजुमा रहेको र जाहेरी दिने तयारी गरिरहेको बताइन् । प्रहरीले भने यस विषयमा अनुसन्धान भइरहेको बताएको छ ।
