धनुषा:प्रत्येक वर्ष बैशाख शुक्ल पक्ष नवमी तिथिमा मनाइने जानकी नवमी यस वर्ष पनि जनकपुरधाममा धुमधामका साथ मनाइने भएको छ । जानकी मन्दिरका सहायक महन्त रोशन दास वैष्णवका अनुसार यस वर्ष बैशाख १६ गते शनिबार जानकी नवमी मनाइनेछ ।
सो अवसरमा १५ गतेदेखि १७ गतेसम्म जानकी मन्दिरलगायतका यहाँस्थित मठ मन्दिरहरुमा विभिन्न कार्यक्रम गरी मनाइने सर्वपक्षीय निर्णय गरिएको छ । जानकी नवमीको अवसरमा आयोजित समारोहलाई सफल पार्नका लागि सोमबार जानकी मन्दिरको प्रांगणमा सर्वपक्षीय बैठकको आयोजना गरिएको थियो । सो बैठकले नवमीको दिन जनकपुरधाममा नगर दर्शन कार्यक्रममा शोभायात्रालगायतको कार्यक्रम गरिने छ ।
त्यसैगरी,जानकी नवमीकै अवसर पारेर जनकपुरधाम उपमहानगरपालिका–७ स्थित महावीर मन्दिर बस पार्कमा प्रतिमाको प्राण प्रतिष्ठा गरिने भएको छ । प्राण प्रतिष्ठाका लागि विभिन्न चार दिवसीय कार्यक्रमको समेत आयोजना गरिएको छ । सो क्रममा सोमबार मन्दिरबाट कलश यात्राको आयोजना गरिएको थियो ।
त्यस्तै,मंगलबार जलाधिवास र हवन गरिने छ भने बुधबार पुष्पाधिवास हवन,बिहीबार अन्नाधिवास हवन तथा १५ गते नगर दर्शन झाँकी प्रदर्शनसहित विभिन्न भगवानहरुको मूर्ति प्रतिष्ठापनको कार्यक्रम रहेको माँ जानकी जनकपुरधाम यातायात प्राईभेट लिमिटेडका अध्यक्ष मनोज कुमार चौधरीले बताए । प्राण प्रतिष्ठाका लागि भारतको उत्तर प्रदेशस्थित चित्रकुट आश्रमका जगदगुरु रामभद्राचार्य जनकपुरधाम आउने भएका छन् ।
शुक्रबार रामभद्राचार्यको बिहान जानकी मन्दिरमा विशेष पूजा गर्ने कार्यक्रम रहेको छ भने दिउँसो मन्दिरमा प्राणप्रतिष्ठाको कार्यक्रममा सहभागी हुने जनाइएको छ भने दिउँसो अढाई बजेपछि उनको भारतको सीतामढी तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका सहयोगी वैष्णवले बताए । बैठकमा सहभागी अधिकांश वक्ताहरुले जानकी नवमीको अवसरमा सरकारले देशभरि सार्वजनिक विदा घोषणा गर्नुपर्ने माग अघि सारेका थिए ।