आज्ञा खबर
महोत्तरी
इस्लाम धर्मावलम्बीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदैछ । पर्वको अवसरमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले सम्पुर्ण मुस्लिम देशबासीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ। यो पर्वमा मुसलमान समुदायले एक महिना व्रत बस्ने गर्दछन जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन् ।
इदुलफित्र मनाउनका लागि आज मुसलमान समुदाय ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् ।
रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु यो महिनाको ठूलो विशेषता मानिन्छ ।
रमजान महिना मुसलमानका लागि निकै महत्त्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्छ ।।
यो पर्व आपसी सद्भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाईनुका साथै आफूभन्दा ठूलावडाबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिँदै मिष्ठान्न एवं स्वादिष्ट परिकार खाने र खुवाउने परम्परा रहेको छ।





































