फोहोर फाल्ने ठाउँबाट नक्कली नोट बरामद

[sharethis-inline-buttons]

सर्लाही: सर्लाहीको लालबन्दीबाट मङ्गलबार बिहान ठूलो परिमाणमा नक्कली नोट बरामद भएको छ । लालबन्दी नगरपालिका –७, बजारस्थित पुरानो गोल्डेन फ्यूचर आवासीय विद्यालय रहेको भवनको पछाडिपट्टी फोहोर फाल्ने ठाउँमा फ्याँकिएको अवस्थामा नक्कली नोट बरामद भएको हो ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्ताराम कार्कीले एक हजारका ५३० वटा नक्कली नोट बरामद भएको जानकारी दिनुभयो ।

ती नक्कली नोटसँगै एक हजार दरको नोट आकारकै पाँच सय भन्दा बढी ‘फोटोकपी पेपर’ समेत बरामद भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताएको हो। नक्कली नोट बनाउने कार्यमा संलग्न व्यक्तिले बजारमा ती नोट प्रयोग गर्न नसकेपछि फोहोर फाल्ने ठाउँमा ल्याएर फालेको हुनसक्ने आशङ्का गरिएको छ ।

प्रहरीले नक्कली नोट बनाएर फाल्ने व्यक्ति पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ । सर्लाहीमा पछिल्लो समय नक्कली नोटको कारोबारी सक्रिय भइरहेका छन् ।

प्रहरीले जिल्लाको विभिन्न स्थानबाट नक्कली नोटसहित यसको कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरेर कारबाही समेत चलाइरहेको छ । लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष कृष्णबहादुर कार्की गोपालले मङ्गलबार बिहान नक्कली नोट फेला परेको स्थानमा आफू पनि पुगेको र स्थानीय तथा व्यापारीलाई नक्कली नोटको कारोबारीबाट सचेत रहन आग्रह गरनुुभयो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...