निकेश खनााल
बर्दिवास
नव वर्षको शुभआरम्भसंगै वैशाख २ गते अर्थात आज मधेश प्रदेश लगायत तराईका जिल्लाहरुमा जुरशितल मनाइँदैछ ।
यो पर्वमा एकाबिहानै घरका जेष्ठ मान्यजन सदस्यले आफूभन्दा परिवारका साना सदस्यलाई शिरमा जल सिंचित गर्दै आर्शीवाद दिने चलन रहेको छ ।
जेष्ठ मान्यजनको आशीर्वादले वर्षभरि नै शितलता, सुख, समृद्धि, शान्ति एवं दीर्घायु तथा उत्तरोत्तर प्रगति हुन्छ भन्ने जनविश्वास छ ।
आजका दिन खेतबारीमा पानी सिंचित गरिनुका साथै रुख बिरुवामा समेत मलजल गरिन्छ । सूर्यको तापबाट मानवलगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो।
जुरशितलमा जल सिंचित गर्दा आफूभन्दा सानाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्न सक्ने जनविश्वास छ । यो पर्वको अवसरमा मिथिलाञ्चल लगायत तराईका विभिन्न स्थानमा हिलोपानीमा कुस्ती खेल्ने गरिन्छ ।
आजको दिनमा अघिल्लो दिन नै पकाएको बासी भात चुह्लो देवतालाई चढाएर घरघरमा भात, दाल, तरकारी, करही बरी, तरुवा, भुटेको र तारेको परिकारलगायत मिष्ठान्न परिकार पकाएर खाने चलन रहेको छ ।





































