आज्ञा खबर
सप्तरी: मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र कुमार शर्मा सुरेन्द्र मधेसी सप्तरीबाट पक्राउ परेका छन् । सोमबार बिहान इलाका प्रहरी कल्याणपुरको टोलीले उनलाई राजविराजबाट पक्राउ गरेको हो ।
मिटरब्याज पीडितहरूले ११ दिन पैदल हिँडेर काठमाडौँमा न्याय माग्न सङ्घर्ष गरिरहेका बेला सप्तरीबाट शर्मालाई पक्राउ गरिएको हो ।आपराधिक विश्वासघात तथा ठगी मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए । गत शनिवार मात्र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा मिटरब्याज पीडितहरूले ५ बुँदे सहमति गरेका थिए ।
पाँच बुँदे सहमति गरेको सरकारले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।
