आज्ञा खबर
महोत्तरी
आज रामको पूजा आराधना गरी देशभर राम नवमी पर्व मनाइँदैछ।
हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरी श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ।
आज जनकपुरको रामजानकी मन्दिरमा भव्य पूजाआजा हुन्छ। रामजानकी मन्दिरमा नेपाल तथा भारतबाट ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन्। आज देशभरकै राम मन्दिरमा भक्तजनको भिड लाग्ने गर्छ।
हिन्दु धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल नवमी तिथिमा पर्ने आजको दिनलाई भगवान श्रीरामको जन्मदिनको रूपमा लिइन्छ।
यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान श्री रामका साथै नवदुर्गा देविको पनि पूजा हुन्छ। त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मिएका रामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरेको सम्झनामा यो पर्व मनाइने गरिएको हो।
आजका दिन व्रत बसी रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने जनविश्वास छ। राम नवमी पर्वको अबसरमा आज मधेश प्रदेश सरकारले सार्बजनिक बिदा दिएको छ।





































