१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७ वर्षीय ओमप्रकाश सिंहलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

बीआर ०६ जि ऐ ९६९१ नम्बरको मिनि ट्रकमा गाँजा लुकाइ भारततर्फ लैजाँदै गएको अवस्थामा पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

इनर्वागाउँस्थित धर्मकाँटा अगाडि रोकिराखिएको भारतीय ट्रकलाई नियन्त्रणमा लिई जाँच गर्दा गाँजा बरामद गरिएको थियो । चैत ४ मा पक्राउ परेका सिंहलाई चैत ५ मा पर्सा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद बुझेको बताइएको छ। रासस