राजदेबी मन्दिरबाट चोरिएका गहनासहित पाँच जना पक्राउ

आज्ञा खबर
धनुषा
जिल्ला प्रहरी कार्यालय धनुषाले फागुन १४ गते राति मन्दिरको ताल्चा फोरेर बहुमूल्य सरसामानहरु चोरी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका ३७ वर्षीय रजाक मोहम्मद, विदेह नगरपालिका ४ सुन्दरपुर बस्ने २१ वर्षीय मोहम्मद हबगुल्लाह साह, सोही नपा ४ बस्ने २२ वर्षीय नर्सुद्दिन साह र ३० वर्षीय सरिफ मुसलमान तथा कमला नगरपालिका ७ बस्ने २२ वर्षीय रमेशकुमार महतो छन् ।
क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित राजदेवी मन्दिरबाट चोरी भएका मूर्ति तथा सुन चाँदी र पितलका गरगहना, पेस्तोललगायत हातहतियारसहित उनिहरुलाई पक्राउ गरीएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुँन ।
उनिहरुको साथबाट १ थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने १ थान गोली, १३ थान मोबाइल, ११ हजार ५ सय नगद, मूर्ति, मुकुट आदि गरी करिब २ केजी चाँदी, पूजामा प्रयोग हुने सुन चाँदीका गरगहना, भाँडा वर्तनसँगै ताल्चा फोड्न प्रयोग हुने फलामको छेनी, घन, खुकुरीलगायतका सामानहरु बरामद गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
रमदैयास्थित राजदेवी मन्दिरमा जडान गरिएको सीसी टिभी क्यामराको फुटेजको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष अनुसन्धान टोलीले शुक्रबार विदेह नगरपालिका ४ का सरिफ मुसलमानलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि सरिफकै सूचनाको आधारमा भारततर्फ भाग्दै गरेका रजाक मोहम्मद, हबगुल्लाह शाह,रमेश महतो तथा नर्सुद्दिन शाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनिहरुको बिषयमा थप अनुसन्धान भईरहेको बताईएको छ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...