आज्ञा खबर
धनुषा
धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप महतोको हत्यामा संलग्न रहेको भन्दै तीनजनालाई जिल्ला अदालत धनुषाले सजाय तोकेको छ।
जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले शुक्रबार घटनाको मुख्य योजनाकार भनिएका चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५–२५ वर्ष कैद र पाँच लाख जरिबाना तिर्नुपर्ने फैसला गरेको हो । जितेन्द्र महतोलाई भने साढे १२ वर्ष कैद र दुई लाख ५० हजार जरिबाना सुनाइएको छ ।
यही फागुन ३ गत्ते जिल्ला अदालत धनुषाले आरोपित सात जनामध्ये चार जनालाई सफाइ दिदै तीनजनालाई दोषी ठहर गरेको थियो ।
दिलीप हत्या आरोपमा पक्राउ परेका रोशनकुमार यादव, विनोद महतो, सत्यनारायण महतो र शत्रुधन महतो केही समयपछि धरौटीमा रिहा भएपछी उनीहरूलाई अदालतले सफाइ दिएको बताईएको छ ।
२०७६ पुस २५ गते दिलीपको हत्या भएको थियो । उनलाई पर्यावरण शहिद घोषणा गरीनुपर्ने माग हुँदै आएको छ।





































