राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा फरार सांसद लक्षमी महतो

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
आगामी फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार ८ सय ८१ जनाको मतदाता सूची सार्वजनिक गरेको छ। मतदाता सुचिमा मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा अदालतबाट थुनामा पठाउने आदेश भएका नेकपा एमालेका महोत्तरी क्षेत्र नम्बर १ का सांसद लक्ष्मी महतो कोइरीको नाम मतदाता सूचीमा छ।

प्रहरीले पक्राउ गर्ने सूचना पाएपछि कोइरी अहिले फरार भएका छन्। उनको मुद्दाबारे संसदमा कुरा उठेपछि कोइरी अहिले प्रतिनिधिसभामा पनि सहभागी छैनन्। उनले मंसिर ४ को निर्वाचनमा माओवादी नेता गिरिराजमणि पोखरेललाई हराएका थिए।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकामा बिहीबारसम्म दाबी विरोधको समय रहेको छ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी नियमावलीमा आयोगले संसद सचिवालय र प्रदेश सभा सचिवालयबाट पदमा बहाल सांसदहरूको सूची मगाएर मतदाता नामावलीको व्यवस्था गर्छ

आयोगले निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमार्फत सार्वजनिक गरेको मतदाता नामावलीमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभा सदस्य ५ सय ५० जनाको नाम रहेको छ।