विजय कुमार सिंह
ढल्केवर,
पाचौं साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता धनुषामा सुरु भएको छ ।
स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर विगत चारवर्षदेखि हुँदै आएको महिला राष्ट्रिय हक्की प्रतियोगिताको पाँचौ संस्करण सोमवारबाट धनुषाको मिथिला नगरपालिकामा सुरु भएको हो । नेपाल हक्की संघ तथा स्थानीय मिथिला नगरपालिकाको आयोजनामा नक्टाझिजस्थित रहेको हिमालय युवा क्लबको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेस प्रदेशका प्रदेशसभा सदस्य हरिनारायण महतोले गरेका हुन् ।
सोमवार भएको तीनवटा खेलमा लुम्बिनी, नेपाल आर्मी र मधेस प्रदेशले जित हात पारेको छ । प्रदेश १ र लुम्बिनीबीच भएको पहिलो खलेमा लुम्बिनी २–० गोल अन्तरले विजयी भएको हो । लुम्बिनीका लागि पुजा कुमारीले गरेको दुई गोल जितका लागि निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच घोषित उनी दुईहजार नगद पुरस्कार पाईन् ।
यस्तै विभागीय टोली नेपाल आर्मी र सुदुरपश्चिम प्रदेशबीच भएको दोस्रो खेलमा नेपाल आर्मी ६–० गोल अन्तरले जितेको छ । नेपाल आर्मीका लागि सितामाया बलले सर्वाधिक ३, सिमा खड्काले २ र सिता कुमारी चौधरीले १ गोल गर्दा सुदुरपश्चिमका खेलाडीहरु निरिह बने । दोस्रो खेलका म्यान अफ दि म्याच सिता कुमारी बल घोषित भईन् ।
म्यान अफ दि म्याच नेपाल आर्मीकी सिता कुमारी बललाई पुरस्कृत भईन।
त्यसैगरी मधेस र गण्डकी प्रदेशबीच भएको तेस्रो खेल रोमाञ्चक बनेको थियो । त्यस खेलमा कडा प्रतिस्पर्धाकाबीच मधेस प्रदेशले गण्डकीलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । मधेस प्रदेशका लागि कुमकुमले सर्वाधिक २, मुस्कान र अन्जली साहले समान १ गोल गर्दा गण्डकीकी सोनु बरालले दुई गोल गरिन् । मधेस प्रदेशकी कुमकुम म्यान अफ दि म्याचको पुरस्कार पाईन् ।
प्रतियोगिताको दोस्रो दिन पनि तिन खेल हुने टुर्नामेन्ट डाइरेक्टर अशिम शर्माले जानकारी दिए । उनका अनुसार मंगलवारको पहिलो खेल बागमति विरुद्ध सुदुरपश्चिम, दोस्रो खेल प्रदेश १ विरुद्ध गण्डकी प्रदेश र तेस्रो खेल लुम्बिनी विरुद्ध मधेस प्रदेशबीच हुनेछ ।
माघ २८ गतेसम्म चल्ने प्रतियोगितामा कर्णाली बाहेक ६ वटा प्रदेश र एक विभागिय टोली९नेपाल आर्मी० सहभागी रहेको हक्की खेलका राष्ट्रिय प्रशिक्षक बाबुराम नेपालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टिमलाई क्रमश ७५ हजार, ४० हजार र ३० हजार नगद पुरस्कार र डमी शील प्रदान गरिने छ । प्रतियोगितामा विभिन्न ५ वटा विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कार दिइने नेपालले जनाए ।