आज्ञा खबर
महोत्तरी
जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट प्रहरीले पाँच जना लेखापढी ब्यवसायीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका ४ बस्ने नागेन्द्र पासवान, मटिहानी न.पा. २ बस्ने उदयशंकर यादव, जलेश्वर न.पा. २ बस्ने विनोद साह, विनोदकुमार महतो र रामगोपालपुर न.पा. ८ बस्ने विशम्भरप्रसाद साह रहेको जनाइएको छ । उनिहरुले सेवाग्राहीको काम आफै गरिदिने र बढी रकम असुली गर्ने गरेको सेवाग्राहीबाट गुनासो आएपछी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सेवाग्रहीको गुनासो आएपछि उनिहरुलाई निगरानीमा राखेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए ।
सेवाग्राहीको बढी भिडभाड हुने प्रशासन कार्यालय, मालपोत तथा भूमिसुधार कार्यालय, अदालत लगायतका कार्यालयमा अदालतबाट प्रमाणपत्र पाएर लेखापढी ब्यवसायीले कामकाज गरे पनि उनीहरू अतिरिक्त रकमको लोभमा नियम विपरितका कामहरू गराउँदा गुनासोहरू बढेको देखिएको छ ।
सेवादाता र सेवाग्राहीबीच पुलको काम गरिदिने लेखनदासको काम भए पनि तोकिएभन्दा बढी रकम लिएर बिचौलियाको काम गरिदिने गरेको कारणले पटक पटक सेवादाता कार्यालयले बिचौलिया निषेधित क्षेत्र भनेर कार्यालयमा निषेधित गर्दैआएको छ ।
सार्वजनिक सेवा प्रवाहलाई सरल बनाउने क्रममा लेखनदास जिम्मेवार निकायले तोकिदिएको शुल्कभन्दा बढी रकम लिने गरेकाले सेवाग्राहीहरू उजुरी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन महोत्तरीका सचिव अर्पणकुमार कर्णले सेवा प्रदायक र सेवाग्राहीबीच पुलको काम गर्ने लेखनदासलाई के कति कारणले पक्राउ गरिएको हो, बुझन् नसकेको जानकारी दिए ।





































