रुपैयाँ लिई फरार तीनजना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
वीरगन्ज १० स्थित माँ दुर्गे मनी ट्रान्सफर प्रा.लि.मा कार्यरत कर्मचारीले ४ लाख १४ हजार ८ सय रुपैयाँ लिई फरार भएका ४ जना मध्ये तीनजना प्रहरीको फन्दामा परेका छन्।
उनीहरूलाई सञ्चालकले कृषि विकास बैंकमा उक्त रकम जम्मा गर्न पठाएका थिए। सो क्रममा उनीहरू रकम लिई फरार भएका थिए।

तीमध्ये एकजना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले बताए।

पक्राउ पर्नेमा वीरगन्ज महानगर–१० का २२ वर्षीय आकाश साह, २२ वर्षीय सञ्जय साह र सोही ठाउँका महमद सकिर मियाँ रहेका छन्। उनीहरूलाई ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए।

फरार एकजनाको प्रहरीले खोजी गरीरहेको पर्सा प्रहरीले जनाएको छ।

पैसा जम्मा गर्न पठाएका स्टाफ नआएपछि सञ्चालकले मंगलबार प्रहरीलाई खबर गरेपछि खोजतलास गर्दा २ लाख २३ हजार ५ सय दश सहित तीन अभियुक्त पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ।

पक्राउ परेका अभियुक्तहरुलाई बुधबार पर्सा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...