आज्ञा खबर
जनबपुरधाम
जनकपुरधाम–आज सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा आज धुमधामसित जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको भन्ने गरिन्छ, त्यसरी नै वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वंम्बर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन छ ।
आज दिउँसो साधुशन्तको अगुवाइमा झाँकी किर्तण सहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयम्वर गरिने छ । ढोल पिपही, सहनाई, बैण्ड बजा र पञ्चेबाजासहित निस्किने दुवै डोला वाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर गर्ने प्रचलन छ । डोलाको दर्शन र रामसीताको सोयमम्बर हेर्न बाह्रविघा मैदानमा हजारांैको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।
स्वयम्वर पश्चात राम र जानकीको डोलालाई नगर परिक्रमा गर्दै जानकी मन्दिरमा पुगेर साँझदेखि विवाहको काज सुरु हुन्छ । राम र सीताको विवाहको लागि यसवर्ष पनि जानकी मन्दिरको प्रांगणमा विवाह मण्डप अर्थात मरबा बनाइएको छ । राम र जानकीको विवाहको लागि जानकी मन्दिरलाई नवदुल्ही झै सृंगारिएको छ ।
वैवाहिक कार्यक्रममा झाँकी किर्तण सहित सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजन हुने गर्दछ । जसको अवलोकनको लागि हजारौं दर्शनार्थीहरुको जानकी मन्दिरमा भीड लाग्ने गर्दछ ।
बैबाहिक कार्यक्रममा भगवान रामका बुबा राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले भूमिका निर्वाह गर्दछन् ।
मंसिर ७ गतेबाट सुरु भएको सप्ताहव्यापरी विवाहपञ्चमी महोत्सवको पहिलोदिन नगर दर्शन, दोश्रो दिन फुलवारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौ दिन दिन मटकोर तथा पूजा कार्यक्रम सम्पन्न भइसकेको छ । आज सीतारामको विवाहको कार्यक्रम सम्पन्न भएपछि भोली रामकलेवा गरी जन्ती एवं साधुशन्तालाई विदाई गर्दै विधिवत रुपमा विवाहपञ्चमी महोत्सव समापन हुने छ ।
महोत्सवमा सहभागि हुन देशका विभिन्न स्थान तथा छिमेक देश भारतबाट आएका लाखौंको दर्शनार्थीले जनकपुर खचाखच भरिएको छ । दर्शनार्थी आउने क्रम जारी नै रहेको छ । विवाहपञ्चमीलाई मध्यनजर गर्दै जनकपुरमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशमा आज प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।