बीमा समितिका अध्यक्षको गुनासो– कोरोना बीमाको पैसा दिन्छु भनेर दिइएन, सरकारले नै झुक्यायो

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौं
बीमा समितिका अध्यक्ष सूर्य सिलवालले कोरोना बीमाको पैसा दिन्छु भनेर सरकारले नदिएको भन्दै सरकारले नै झुक्याउने काम गरेको गुनासो गरेका छन् ।

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले ‘कोरोना बीमाको पैसा दिन सुरु गर्ने हो’ भनेर अर्थ मन्त्रालयले अहिलेसम्म पैसा नदिएको भन्दै गुनासो पोखे । गत साता मात्रै तत्काल एक अर्ब रुपियाँबाट पैसा दिन सुरु गर्ने अर्थ मन्त्रालयबाट आश्वासन पाए पनि रकम पाउन नसकिएको सिलवालले बताए ।

उनले भने, ‘हामीलाई सरकारले पैसा दिन्न भनेर त कहिले पनि भनेको छैन । तर, दिन्छु भनेको पैसा चाहिं हामीले पाएनौं । बीमा कम्पनीहरु कोरोना बीमाको पैसा पाएमा बीमितलाई दिन तयार छन् भुक्तानीको प्रक्रियामा अरु केही पनि समस्या नै छैन् । यहाँ मुख्य कुरा भनेको अर्थ मन्त्रालयले दिन्छु भनेको पैसा नै आएन ।’

सिलवालले आफूहरु कम्पनी नभई बीमा समिति भएको र सरकारको निकायलाई सहयोग गर्न सरकार नै पछि हट्दा जनतामा राम्रो सन्देश नगएको बताउँदै कोरोना बीमाको रकम भुक्तानी रोक्किनुको कारण सरकार भएको कुराको जानकारी जनतासम्म पुर्याउन मिडियाले पनि भूमिका खेल्नुपर्ने बताए ।

पुनर्बीमा नै नहुने कोरोना बीमा सुरु गरेकाले अहिले भुक्तानीका लागि निर्जीवन बीमा कम्पनीहरुलाई ठूलो समस्या बनेको उनले बताए ।
सिलवालले भने, ‘सरकारले पनि कोरोना बीमालाई समर्थन गरेर बजेटमार्फत सहयोग त गरेको रहेछ । तर, अहिले हामीले धेरै कोसिस गर्दा पनि पैसा पाइएन् ।’

उनले थपे, ‘गत साता मैले अर्थमन्त्रीलाई भेटेको थिए । त्यतिबेला मन्त्रालयका अन्य सचिवज्यूहरु पनि सँगै हुनुहुन्थ्यो । सरकारले कोरोना बीमाको पैसा अब निकासा गर्ने सुनाएको थियो । सुरुवाती चरणमा एक अर्ब रुपियाँ दिने र त्यसपछि बाँँकी रकम तिर्ने सहमति भएको थियो । तर आज आउँदा पैसा आउँदैन ।
भोलि आउला भन्यो आउँदैन् । अब कति कुर्ने रु त्यसमा पनि केही निश्चित छैन् ।’

कोरोना बीमा ल्याइएको दुई वर्ष भइसकेको र बीमितको लागि एउटै दाबी भुक्तानीका लागि लामो समयसम्म झुलाउँदा त्यसले अन्य बीमामा समेत नकारात्मक असर परेको सिलवालको भनाई छ । लामो समयदेखि कोरोना बीमाले नराकात्मक प्रचार बढाएको भन्दै उनले यस विषयमा सरकार समेत गम्भीर हुनुपर्ने बताए ।

कोरोना बीमावापत एक लाख १२ हजार बीमितको १० अर्ब ५२ करोड रुपियाँ बराबरको दावी भुक्तानी हुन सकेको छैन् । सिलवालले आगामी दिनका पुनर्बीमा नहुने कुनै पनि बीमालाई बीमा क्षेत्रले समर्थन गर्न नहुने बताए । कर्पोरेट नेपाल