प्रतिनिधि सभाको बैठक बस्दै, मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी

[sharethis-inline-buttons]

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ।

त्यसका लागि सम्भावित कार्यक्रम तय गरिएको छ।

सचिव योगीका अनुसार आजको बैठकमा सांसद भीम रावलले ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवद्र्धन गर्न आवश्यक भएकाले’ भन्ने जरुरी सार्वजनिक महत्त्वको विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको ध्यनाकर्षण गराउने सम्भावित कार्यसूची छ।

उक्त ध्यानाकर्षणको सम्बन्धमा सांसद यज्ञबहादुर बोगटीले सांसद राजबहादुर बुढाक्षेत्रीले स्पष्टीकरण माग्ने छन्।

यस्तै आजको सम्भावित कार्यसूचीमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी आजको बैठकमा राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६’बारे प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

आजको प्रतिनिधि सभा बैठकमा सञ्चारमन्त्री कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।