आज्ञा खबर
भारतका सेना प्रमुख जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दैछन् । अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
पाँच दिने नेपाल भ्रमणका क्रममा पाण्डेले त्यसअघि आजै बिहान माउन्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ । साथै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।
यस्तै आज साँझ हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । भोलि मुक्तिनाथको दर्शन, पोखरास्थित मध्य कमाण्ड हेटक्वाटरको निरीक्षण तथा बसन्तपुरस्थित दरबार स्क्वायरको भ्रमण गर्ने कार्यक्रम छ । बिहीबार भने नेपालस्थित भारतीय राजदूतावासको भ्रमण गरी उनी स्वदेश फर्कनेछन् ।
पाण्डेलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणका लागि सेनाध्यक्ष पाण्डे आइतबार यहाँ आएका थिए ।