आज्ञा खबर
काठमांडौ
नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ। पदाधिकारी टुंगो लगाउन स्थायी समितिको बैठक बस्न लागेको हो।
बैठक अहिले केहीबेरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ। स्थायी कमिटी बैठकबाट हिजै पदाधिकारी टुंगो लगाउने भनिए पनि पटकपटक समय सारेर आजसम्मका लागि स्थगित गरिएको थियो।
गत असार १८ गते बसेको स्थायी कमिटी बैठकले पदाधिकारीको टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। प्रचण्डले दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने चर्चा छ। उनले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने नेता नारायणकाजी श्रेष्ठलाई दिइसकेका छन्।
त्यस्तै महासचिवमा देव गुरुङको चर्चा छ। महासचिवका दुई दावेदार वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेललाई उपमहासचिव प्रस्ताव गर्ने प्रचण्डको तयारी छ।
पुन र शर्मा दुवैले महासचिवमा दाबी गरेपछि प्रचण्ड गुरुङलाई महासचिव बनाउने अवस्थामा पुगेको बताइएको छ। आजको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम पढेर सुनाउने छन्। महाधिवेशन भएको लामो समय वितिसक्दा पनि माओवादीले अध्यक्षबाहेक पदाधिकारी चयन गर्न सकेको छैन।





































