काठ तस्करीमा चोरीको सवारी

[sharethis-inline-buttons]

आज्ञा खबर
केही दिनअघि वन कर्मचारीले बा३ च ९६७५ को जिपमा काठ तस्करी हुँदै गरेको सुराकी पाए । सशस्त्र वन रक्षकको टोली हतियारसहित धन्सार वाग्मती खण्डको जंगलमा गौडा कुरेर बस्यो । सेतो रंग र नम्बर पहिचान भए पछि वनको टोलीले गाडी रोक्न खोज्यो । गाडी छाडेर चालक भाग्न सफल भए । अनुसन्धान गर्दै जादा नियन्त्रणमा लिएको जिपको नम्बर प्लेट नै नक्कली भएको खुलेको छ ।

वनले ठूलो परिणामको सालको गोलियासहित जिपलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि नम्बर प्लेट नै नक्कली भएको खुलेको हो । जिप नियन्त्रणमा आएपछि सवारीधनीसहित तस्कर पक्राउ पर्ने वनको बुझाइ थियो । यही कारण सवारीधनी पत्ता लगाउन वनले यातायात कार्यालय वीरगन्जमा जिपको नम्बरसहित लेखेर पठायो । तर, उक्त गाडीको नम्बर प्लेट नै नक्कली भनेर जवाफ आएको हो ।

पछिल्लो समय वनले सालको चिरान काठसहित ४ वटा जिप नियन्त्रणमा लिएको थियो । उक्त जिपमा नेपाली नम्बर राखिएको थियो । अनुसन्धानका क्रममा भारतीय नम्बरको गाडी भएको खुल्यो । नेपाली नम्बर सबै नक्कली झुन्ड्याइएको थियो । केही समययता सालका गोलिया तस्करीमा चोरीका जिपमा नक्कली नम्बर राखेर प्रयोग गरिरहेको फेला परेको छ । भारतबाट सस्तो मूल्यमा खरिद गरि ल्याएका जिपहरू तस्करीमा प्रयोग हुन थालेको हो ।

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत रामप्रसाद साहले तस्करले नक्कली नम्बर प्लेट राखेर काठ ओसारपसार गर्दै आएको बताए । ‘वन गस्ती टोलीले जति पनि काठ तस्करको सवारी नियन्त्रणमा लिएको छ, ती सबै नक्कली नम्बर राखेर चलाएको खुलेको छ,’ उनले भने, ‘भारतीय चोरीका जिपहरूमा नेपाली नम्बर राखेर काठ ओसार पसार गरेको पाइएको छ ।’ नक्कली नम्बर प्रयोगले वास्तविक सवारीधनीको पहिचान हुन नसकेको र पक्राउ गर्न समस्या भएको वन कार्यालयले जनायो ।

डिभिजन वनले ६ महिनायता ४ वटा चोरीका बोलेरो जिप र काचो सालको गोलिया नियन्त्रणमा लिएको छ । केही समयअघिसम्म तस्करले ट्रक, ट्र्याक्टर, मोटरसाइकल तथा साइकलमा सालको गोलिया लैजान्थे । जिल्लाका धन्सार, बृन्दावन, रंगपुर, जंगलसैया, जुडीवेला, गैडाटार, चन्द्रनिगाहपुरको वनक्षेत्रमा बढी काठ चोरी तस्करी हुने गरेको पाईएको छ ।

 

यस्तै, डिभिजन वनअन्तर्गतको सशस्त्र वन रक्षक सुरक्षा शाखा परिसरमा ट्रक, ट्र्याक्टर, मोटरसाइकल, जिप, टायर गाडा र साइकाल गरी झन्डै २ सय बढी सवारी कुहिएर कामै नलाग्ने भएका छन् । बरामद भएको ट्रकमध्ये ४ वटा बेबारिसे अवस्थामा फेला परेकोले मुद्दाको छिनोफानो ढिला भएको हुन सक्ने कार्यालयले जनायो । वनले अवैध काठसहित ६ वटा ट्रक बरामद गरेको थियो । त्यस्तै ५ वटा ट्र्याक्टर, ४ वटा जिप, ३ वटा मोटरसाइकल बरामद भएको थियो । साइकल १ सय र टायर गाडा १ सय बरामद गरिएको थियो । कान्तिपुरबाट