आज्ञा खबर
केही दिनयता भइरहेको कोरोना संक्रमण पुनः तीव्र विस्तारमा नयाँ भेरिएन्टको आशंका भइरहेका बेला कोरोनाभाईरस कोभिड–१९ भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको ‘बीए.५’ नेपालमा पनि पाइएको छ । कोरोना पुष्टि भएको स्वाबको नमुनालाई धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ सब–भेरिएन्ट पुष्टि भएको हो ।
छिमेकी मुलुक भारतमा कोरोनाको ‘बीए.४’ र ‘बीए.५’ सब–भेरिएन्ट निकै संक्रामक देखिएको छ ।
‘नेपालमा केही दिनअघिसम्म कोरोना संक्रमणका लागि ओमिक्रोनको बीए.२ सब भेरिएन्टलाई प्रमुख कारण मानिँदै आएकोमा अब बीए.५ सब–भेरिएन्टसमेत पुष्टि भएको छ,’ धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा प्रमुख डा. राजीव श्रेष्ठका अनुसार भाइरसको यो उपप्रजातिका असरहरूका सम्बन्धमा अझै अध्ययन भइरहेका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले ओमिक्रोन भेरिएन्टको ‘बीए.२’ पुष्टि भइसकेको हुँदा कन्ट्याक्ट ट्रेसिङलगायतका विस्तृत रूपमा खोजबिन अगाडि बढाइएको बताए ।





































