५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड विरुद्धको खोप दिँदै आजदेखि

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौं। सरकारले आज बिहीबारदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दिँदैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पायक पर्ने विद्यालयमा खोप केन्द्र तोकेर दुई चरणमा गरी बालबालिकालाई खोप दिन लागेको बताउनुभयो ।पहिलो चरणमा देशका २७ जिल्लामा बिहीबारबाट १५ गतेसम्म पहिलो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ। आजबाट खोप कार्यक्रम सञ्चालन हुने जिल्लामा झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर रहेका छन्।

त्यस्तै, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि आजबाट खोप कार्यक्रम सञ्चालन हुनेछ।

बालबालिकालाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। देशका बाँकी ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी छ।