रामायण सर्किट जोड्ने रेल आज जनकपुरधाम आइपुग्दै, भव्य स्वागतको तयारी

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा

‘भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुग्दै छ । गत मंगलबार साँझ ७ बजे भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले संयुक्तरुपमा नयाँ दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाएर रेलको उद्घाटन गरेपछि जनकपुरधामको लागि प्रस्थान गरेको रामायण सर्किट जोड्ने सो रेल आज दिउँसो १ः३० मिनेटमा जनकपुरधामा आइपुग्ने मधेश प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतोले जानकारी दिए ।
झण्डै ६ सय तीर्थ यात्री बोकेको सो रेल रामायण सर्किटको धार्मिक सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यसहित आज जनकपुरधाम आउन लागेको हो । रेल चढेर आउने तीर्थालु यात्रीलाई भव्य स्वागत गर्ने विभिन्न निकायले तयारी गरेको छ ।

मधेश सरकारको उद्योग पर्यटन तथा वन मन्त्रालय, जनकपुरधाम उपमहानरपालिका र जानकी मन्दिरले तीर्थ यात्रीको स्वागतको तयारी गरेका छन् ।

जनकपुर आइपुग्ने तीर्थ यात्रीलाई रेल्वे स्टेशनमा मधेशका मुख्यमन्त्री लालबाबु राउत, पर्यटनमन्त्री सत्रुधन महतोसहितका मन्त्री, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह र जनकी मन्दिरका सह महन्त रामरोशन दास लगायतले रेल चढेर आउने तीर्थ यात्रीहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

रेल्वे स्टेशनमा तीर्थ यात्रीलाई गम्छा, फूलमाला लगाएर स्वागत गर्ने तयारी पर्यटन तथा वन मन्त्रालयले गरेको मन्त्री सत्रुधन महतोले जानकारी दिए । उनका अनुसार पेयपदार्थ चिसो, पानीले यात्रीहरुको स्वागत गरिने छ ।

रेल्वे स्टेशनबाट यात्रीहरु जनकपुरधामको विभिन्न होटेलमा जाने छन् । उनीहरुको लागि जनकपुरधामको विभिन्न होटेल भारतीय राजदुतावासले बुक गरेको छ । केहि समय आराम पश्चात ६ बजे महागंगा आरतीमा तीर्थयात्रीहरु सरिक हुने जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले बताए ।

त्यहाँबाट उनीहरु जानकी मन्दिर पुग्ने छन् । जानकी मन्दिरको प्रांगणमा उनीहरुको लागि साँझ मिथिलाको कला संस्कृति झल्किने रात्री सांस्कृतिक कार्यक्रम आयोजन गरिएको छ । केही घण्टाको सांस्कृतिक कार्यक्रम अब्लोकन पश्चात उनीहरु आफू बसेको होटेलमा तीर्थ यात्री फर्किने छन् ।

शुक्रबार बिहान जनकपुरको राममन्दिर, जनक मन्दिर लगायतमा दर्शन तथा भ्रमण गर्दै बसमा चढेर धनुषाधाम मन्दिर पुग्ने मन्त्री महतोले बताए । ‘त्यहाँबाट फर्केपछि तीर्थयात्रीहरु बस चढेर भिठामोड हुँदै सीतामढी पुग्नेछन् ।

तीर्थ यात्रीको स्वागतको लागि जनकपुरधाम उपमहानगरपालिकाले दुईवटा स्वागत तथा प्रवेशद्वार निर्मामाण गरेको मेयर मनोज साहले बताए ।

मन्त्री महतोका अनुसार जनकपुरधाम आइपुग्ने सो रेल यात्रीलाई ओरालेर फेरि जयनगर नै फर्केर सीतामढी पुग्ने छ । जनकपुरबाट बस चढेर सीतामढी पुग्ने तीर्थ यात्रीलाई लिएर त्यहाँबाट रामायण सर्किट हुँदै दिल्ली फर्किने जनाइएको छ ।