काठमाण्डौँ-
जितको लागि २ सय ८१ रनको बलियो विजयी लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६७ रन बनायो । अमेरिकाका आरोन जोन्सले १ सय १२ बलमा १० चौका र १ छक्कासहित ९७ रनको इनिङ खेले । स्टिभन टेलरले ८० बलमा ९ चौका र १ छक्कासहित ७९ रन बनाए । निसर्ग पटेल ३७ रनमा आउट भए ।
ओमानका कप्तान जिशान मकसुदले १० ओभरमा १ मेडनसहित ३९ रन खर्चेर ४ विकेट लिए । विलाल खानले तीन, कलिमुल्लाह र नेस्टर धम्बाले १–१ विकेट लिए ।त्यसअघि मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले ४ विकेटको क्षतिमा २ सय ८० रन बनायो । ओमानका ओपनर कश्याप प्रजापतिले १ सय १५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक १ सय ३ रनको योगदान दिए । प्रजापतिको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो ।
अर्का ओपनर जतिन्दर सिंह ८८ बलमा ९ चौकासहित ६९ रनमा आउट भए । पहिलो विकेटका लागि जतिन्दर र प्रजापतिले १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए । शोएब खान ५१ र जिशान मकसुद ३५ रनमा आउट भए । अमेरिकाका सौरभ नेत्रवालकर, रस्टी थेरन, क्यामरन स्टिभनले १–१ विकेट लिए । ओमानले विश्वकप लिग २ को अन्तिम खेल मंगलबार नेपालसँग खेल्नेछ ।
अंक तालिका
ओमान ३५ खेलमा २१ मा जित र १२ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २० खेलमा १३ मा जित र ५ मा हारका साथ २८ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।अमेरिका २३ खेलमा १० मा जित र १२ मा हारका साथ २१ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल १४ खेलमा ६ मा जित र ८ मा हारका साथ छैटौ स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।





































