नेपालले जोर्डनसँग खेल्दै

[sharethis-inline-buttons]

काठमाडौं –

एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणमा नेपालले आज (बुधबार) राति जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बलियो जोर्डनबीचको खेल नेपाली समयअनुसार राति १ बजे हुनेछ खेल कुवेतको जाबिर अल अहमद स्टेडियममा हुनेछ । सिनियर ११ खेलाडीविना कुवेत पुगेको नेपाललाई जोर्डनविरुद्धको खेल युवा टोलीको परिक्षा हुनेछ ।नियमित कप्तान किरण चेम्जोङ र उपकप्तान रोहित चन्दसहित ११ सिनियर खेलाडी टिम बाहिर रहेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादपपछि उनीहरु क्याम्प छाड्न बाध्य बनेको थियो ।

मुख्य प्रशिक्षक अलमुताईरी जोर्डनविरुद्ध विना दवाव खेल्ने बताएका छन् । ‘हामीलाई दवाव छैन । हाम्रो समूहमा हामी ४ पोटको राष्ट्र हौँ । त्यसैले हामीमा कुनै दबाब छैन ।’ प्रि म्याच पत्रकार सम्मेलनमा अलमुताईरीले भने, ‘यस खेल नेपाली राष्ट्रिय टिमका लागि महत्वपूर्ण छ । उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ ।’टोलीको प्रशिक्षण सुरु भएको दिन नै सञ्चारकर्मीसँग टोली एसियन कपमा छनोट नहुने बताइसकेका प्रशिक्षक अलमुताइरीले आफुले जोर्डनको खेल हेरेको बताउँदै अहिलेको टिम २०२६ को विश्वकप छनोटको तयारीका लागि रहेको समेत बताए ।

‘हामी सन् २०२६ को विश्वकप छनोटको तयारी गरिरहेका छौं । हामीसँग ११ नयाँ खेलाडी छन् र उनीहरुको औसत उमेर २१ वर्ष छ ।’ उनले थपे ।किरणको अनुपस्थितिम्मा कप्तानीको जिम्मेवारी पाएका नवयुग श्रेष्ठले जोर्डनविरुद्ध उत्कृष्ट खेल पस्कने बताए । ‘पक्कैपनि जोर्डन हाम्रो लागि बलियो प्रतिद्धन्द्धी हो । हामी आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछौं । सबै कुरा प्रदर्शनमा निर्भर रहन्छ ।’ कप्तान नवयुगले भने । कुवेत जानुअघि नेपालले कतारको दोहामा १० दिन विशेषतयारीसँगै तीन मैत्रीपूर्ण खेल खेलेको थियो ।

छनोटको समूह ’ए’ मा रहेको नेपालले जेठ २८ मा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।

हेड टु हेड

नेपाल र जोर्डनबीच हालसम्म चार पटक प्रतिस्पर्धा भएको छ । नेपालले एक खेलमा बराबरी खेल्दा तीन खेल गुमाएको छ । विश्वकप छनोट अन्तर्गत नै नेपालले सन् २०११ को जुलाईमा जोर्डनसँग पहिलो खेल खेलेको थियो ।जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९–० ले पराजित भएको थियो । सोही वर्ष जुलाई २८ मा नेपालमा भएको खेलमा नेपालले जोर्डनलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

त्यहि नै जोर्डनविरुद्ध नेपालको उत्कृष्ट नतिजा हो । त्यसपछिको दुवै खेल नेपालले गुमाएको छ ।
सन् २०१९ को अक्टोबरमा विश्वकप छनोट अन्तर्गतकै खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको थियो । पछिल्लो पटक नेपालले जोर्डनसँग नै फिफा विश्वकप छनोट तथा एसियन कप छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गर्दा ३–० ले नै पराजित भएको थियो ।हाम्रो खेलकुद