काठमाडौं-
मलेसियामा जारी आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा नेपाल थाईल्यान्डसँग ४९ रनले पराजित भएको छ । जारी प्रतियोगितामा दोस्रो हारसँगै नेपालको शीर्ष स्थानमा रहँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ महिला टि२० विश्वकप खेल्ने सपना समाप्त भएको छ । जितको लागि ९० रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा ४० रनमा अल आउट भयो । नेपालकी सृष्टि जैशी २१ बलमा सर्वाधिक ७ रनमा अविजित रहिन् । साना प्रविनले २१ बलमा ६ रन बनाइन् । अञ्जली विश्वकर्मा ३, सनु राजवंशी र अश्मा पुलामी मगर शून्यमा आउट भए ।
अनु कडायत ५, कृतिका मरासिनी ३, मनिषा उपाध्य ३, रञ्जु श्रेष्ठ र स्नेहा महरा १–१ रनमा आउट भए । थाईल्यान्डकी नथिता बुनसुखमले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिइन् ।त्यसअघि युकेएम एसडी क्रिकेट ओभल बांगीमा टस हारेर पहिला ब्याटिङ थालेको थाईल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनायो । थाईल्यान्डको लागि थिपाच्चा पुथावाङले ३१ बलमा सर्वाधिक २० रन बनाइन् । ओपनर बंथिदा लीफथानाले २२ बलमा १ चौकासहित १९ रन जोडिन् । नान्नाफाट चैहान ६ र सुवनाना खियाओटो २४ बलमा १६ रनमा आउट भइन् ।
नेपालले विहीबार आफ्नो अन्तिम खेल मलेसियासँग खेल्नेछ । बिहीबार नै युएई र थाईल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । लज्जास्पद अविश्वसनिय हार नबेहोरे युएई विश्वकपमा पुग्ने उच्च सम्भावना छ ।
अंक तालिका :
युएई ४ खेलमा ८ अंकका साथ नेटरनरेटको कारण शीर्षस्थानमा छ । थाईल्यान्ड ४ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल ४ खेलमा २ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा छ । मलेसिया ४ खेलमा २ मा जितका साथ चौथो स्थानमा छ । समान खेलका साथ कतार र भुटान अंक विहीन हुँदै पुछारमा छन् । हाम्रो खेलकुद –