काठमाडौं-
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि मलेसियामा हुने आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोट खेल्ने टोलीको बिदाई गरेको छ । क्यानले मंगलबार एक कार्यक्रम गरि बिदाई गरेको हो । क्यानका अध्यक्ष चतुर बहादुर चन्द र कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले विश्वकप छनोट खेल्न जाने टोलीलाई बिदाई गरेका थिए । टोलीका मुख्य प्रशिक्षक महेश रिजालले एक महिनादेखि प्रशिक्षणमा यहाँ उपलब्ध स्रोत र साधनमा राम्रो तयारी गरेको बताए ।
‘हामीले एक महिनादेखि राम्रो तयारी गरेका छौं । हाम्रो तयारी पूरा भएको छ । शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुने छौ’, प्रशिक्षक रिजालले भने । त्यस्तै कप्तान कृतिका मरासिनीले टोलीले विश्वास गरेर कप्तान दिएको बताइन् । कृतिकाले पनि राम्रो खेल्दै विश्वकपमा छनोट हुने बताइन् ।जेठ २० देखि मलेसियामा सुरु हुने प्रतियोगिताको लागि नेपालले १४ सदस्य टोली घोषणा गरेको छ ।
६ देश सहभागी प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहन सके आगमी वर्ष दक्षिण अफ्रिकामा हुने टि२० यू-१९ महिला विश्वकप खेल्न पाउनेछ । पहिलो पटक हुन लागेको यू-१९ महिला विश्वकपमा नेपाल प्रतियोगिताको प्रमुख दाबेदार टोली हो । नेपालले यू-१९ प्रतियोगितामा नेपाल, युएई, मलेसिया, कतार, भुटान, र थाईल्यान्ड छन् । चीन र म्यानमारले भने सहभागीता नजनाउने भएका छन् ।
कृतिका, सृष्टि जैसी, सुस्मिता भुषाल र साना प्रविनले सिनियर टोलीको घरेलु प्रतियोगितामा पनि राम्रो छाप छाडेका छन् । यी खेलाडीको प्रदर्शन छनोटमा धेरै महत्वपूर्ण हुनेछ ।
नेपाली यू-१९ महिला टोली :
कृतिका मरासिनी(कप्तान), स्नेहा महरा (उपकप्तान), सृष्टी जैसी, मनिषा उपाध्य, मनिषा रानामगर, एलिसा यादव (विकेटकिपर), साना प्रविन, रञ्जु श्रेष्ठ(विकेटकिपर), आस्मा पुलामी मगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल ।
नेपालको खेल तालिका
जेठ २० (जुन ३ ) – नेपालविरुद्ध कतार
जेठ २१ (जुन ४ ) – नेपालविरुद्ध युएई
जेठ २३ (जुन ६ ) – नेपालविरुद्ध भुटान
जेठ २४ (जुन ७ ) – नेपालविरुद्ध थाईल्यान्ड
जेठ २५ (जुन ९ ) – नेपालविरुद्ध मलेसिया
(हाम्रो खेलकुद) –