आज्ञा सम्वाददाता
उदयपुर
उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। सिद्धिचरण लोकमार्ग अन्तरगत मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना.८.ख.८२९७ नम्बरको लोबेड ट्रक बिहान २ः३० बजे स्थित खोला नजिक दुर्घटना भएको हो।
दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए।
कच्ची सडकमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ट्रक सडकबाट करिव एक सय मिटर तल खसेको छ। प्रहरीले स्थानीयको सहयोगमा शव बाहिर निकाल्ने प्रयास गरीरहेको छ। शव यत्रतत्र छरिएकाले उठाउने कार्य भैरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा उद्धारका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले दुर्घटनाका बिषयमा थप अनुसन्धान भईरहेको जनाएको छ।